• Menu

माछापुच्छ्रे र सिटिजन्ससहित ८ बैंकले बढाए लगानी गर्ने क्षमता, एनआईसी एसिया भने चर्को दबाबमा

डीआर आचार्य

२०८१ वैशाख १२, बुधबार ०७:१२

माछापुच्छ्रे र सिटिजन्ससहित ८ बैंकले बढाए लगानी गर्ने क्षमता, एनआईसी एसिया भने चर्को दबाबमा

काठमाडौं । लगानीयोग्य रकम भएर पनि पुँजीकोष पर्याप्तता अनुपातको सीमानजिक पुगेर दबाबमा परेका कतिपय वाणिज्य बैंक अन्ततः लगानी गर्ने क्षमता बढाउन सफल भएका छन् । माछापुच्छ्रे र सिटिजन्ससहितका आठ बैंकले पुँजीकोष बढाएका हुन् ।

एनआईसी एसिया बैंकको पुँजीकोष भने तीन महिनामै १.३५ प्रतिशत विन्दुले घटेर ११.२९ प्रतिशतमा झरेको छ । हिमालयन, सिद्धार्थ, कुमारी र प्राइम बैंकको पुँजी पर्याप्तता अनुपात पनि १२ प्रतिशतभन्दा कम छ । हिमालयनको ११.८६, सिद्धार्थको ११.७३, कुमारीको ११.७२ र प्राइमको ११.६७ प्रतिशत छ ।

कुनै ठूलो कर्जा नउठेर प्रोभिजनमा वृद्धि भए वा जोखिम भारित सम्पत्ति बढ्यो भने पुँजीकोषलाई सीमाभित्र राख्न यी बैंकलाई हम्मे पर्ने देखिन्छ । तथापि, चालु आर्थिक वर्ष २०८०/८१ को तस्रो त्रैमाससम्म सबै वाणिज्य बैंक ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार पुँजीकोष कायम गर्न भने सफल देखिएका छन् ।

क्यापिटल एडुकेसी फ्रेमवर्कअनुसार वाणिज्य बैंकहरुले ६ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत क्यापिटल कन्भर्सेसन बफरसहित ८.५ प्रतिशत प्राथमिक पुँजीकोष (टायर वान) कायम गर्नुपर्छ भने कुल पुँजीकोष (टायर वान प्लस टायर टु) ११ प्रतिशत कायम गर्नुपर्ने हुन्छ ।

यसबाहेक राष्ट्र बैंकले ‘क’ ‘ख’, र ‘ग’ वर्गका वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ मा व्यवस्था भएबमोजिम काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएको छ । जसअनुसार थप ०.५ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने हुन्छ ।

वर्षभरिमा कुनै एउटा महिनामात्रै पनि पुँजीकोष सीमाभन्दा तल गए वाणिज्य बैंकहरुलाई लाभांश बाँड्न नेपाल राष्ट्र बैंकले रोक लगाउँछ ।

कसरी बढ्यो बैंकहरुको पुँजीकोष ?

साँवाब्याज असुलीलाई उच्च प्राथमिकतामा राखेका वाणिज्य बैंकहरुको पुँजीकोषमाथिको दबाब कम हुँदै गएको हो । बढी दबाबमा रहेका माछापुच्छ्रे बैंक, प्रभु, सिटिजन्ससहित एभरेस्ट, एमएमबी, नेपाल एसबीआई, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पुँजीकोष बढाएका छन् ।

सबैभन्दा धेरै सिटिजन्स बैंकले एक वर्षको अवधिमा ११.८७ प्रतिशतबाट १.१७ प्रतिशत विन्दुले बढाएर १३.०४ प्रतिशत पुर्‍याएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक पुँजीकोषको सधैं सहज अवस्थामा छ । अहिले बढे पनि यो बैंक पहिल्यैदेखि १६ प्रतिशतभन्दा बढी पुँजीकोष लिएर बसेको छ । अहिले पनि स्ट्यान्डर्ड चार्टर्डको पुँजीकोष अनुपात १६.७६ प्रतिशत छ । अरु सबै बैंकको पुँजीकोष अनुपात १४ प्रतिशतभन्दा तल छ ।

सानिमा बैंक दोस्रो धेरै पुँजीकोष हुने बैंक बनेको छ । सानिमाको पुँजीकोष अनुपात १३.५१ प्रतिशत छ । तेस्रोमा रहेको माछापुच्छ्रे बैंकको १३.२८ प्रतिशत छ ।

कतिपय बैंकले साँवाब्याज असुलीलाई उच्च प्राथमिकतामा राखेर पुँजीकोष बलियो बनाएका छन् । यसको एउटा उदाहरण सिटिजन्स बैंक बनेको छ । सिटिजन्सले साँवाब्याज असुली बढाएर खराब कर्जा अनुपात पुस मसान्तको ४.०७ प्रतिशतबाट ३.७६ प्रतिशतमा झारेको छ ।

‘हामीले साँवाब्याज असुलीलाई प्राथमिकतामा राखेका छौं,’ सिटिजन्स बैंकका प्रमुख प्रशासकीय अधिकृत नारायणराज अधिकारीले भने, ‘यसैले गर्दा हाम्रो पुँजीकोष पर्याप्तता अनुपात बढेको हो ।’

राष्ट्र बैंकले माघ २९ गते मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई सहज हुने गरी केही खुकुलो नीति लिएको थियो । त्यसले पनि बैंकहरुलाई राहत मिलेको छ ।

राष्ट्र बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा गणना गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत सीमा बढाएर एक करोडबाट दुई करोड बनाइएको यो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले फागुन १० गते परिपत्र गरेको थियो ।

बैंकहरूले विभिन्न कर्जाअनुसार १५० प्रतिशतसम्म जोखिम भार कायम गर्नुपर्छ । रेगुलेटरी रिटेल पोर्टफोलियोका रूपमा रहने कर्जाको जोखिम भार भने ७५ प्रतिशतमात्र छ ।

‘रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने कर्जाको सीमा वृद्धि भएसँगै बैंकहरूको पुँजीकोष अलि बलियो बनेको हो,’ अधिकारीले भने, ‘बैंकहरू थप कर्जा लगानी गर्न सक्ने अवस्थामा पनि पुगेका छन् ।’

त्यस्तै राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पुर्‍याएको छ भने ५० करोडभन्दा माथिको रियल इस्टेट कर्जाको जोखिम भार पनि १२५ प्रतिशतमा झारेको छ । यसबीचमा कर्जा प्रवाह पनि निकै नै सुस्त छ ।

एनआईसी एसियाको पुँजीकोष किन उच्च दरमा घट्यो ?

एनआईसी एसिया बैंकको पुँजीकोष पर्याप्तता अनुपात भने निकै खस्किएको छ । पुस मसान्तसम्म १२.२१ प्रतिशत रहेको पुँजीकोष चैत मसान्तमा १.३५ प्रतिशत विन्दुले घटेर ११.२९ प्रतिशतमा झरेको छ । २०८१ साउदेखि काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्ने नीतिबाट राष्ट्र बैंक पछि नहट्ने हो भने एनआईसीको पुँजीकोष स्वतः सीमाभन्दा कम हुनेछ ।

निक्षेपकर्ताले करिब ४३ अर्ब निक्षेप फिर्ता लगेको र साँवाब्याज असुली हुन नसकेर खराब कर्जामा उच्च वृद्धि भएका कारण एनआईसी एसियाको पुँजीकोष दबाबमा परेको हो । यो बैंकको खराब कर्जा तीन महिनाको अवधिमा १.१९ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ ।

विगत महिनाहरुमा एनआईसी एसियाले धितो सकारेर भए पनि खराब कर्जाको हिस्सा सन्तुलित राख्दै आएको थियो । तर, एकातिर ठूलो मात्रामा सकारिएको धितोका कारण नन् पर्फर्मिङ एसेट्सको हिस्सा उच्च दरमा बढ्यो भने अर्कातिर सकारिएको धितो बिक्री गर्न खोज्दा पनि बिकेन ।

जग्गामा रहेको हदबन्दीका कारण निश्चित सीमाभन्दा बढी धितो सकारेर राख्नसमेत नपाएपछि खराब कर्जा थप बढेर गएको छ । बैंकरहरुका अनुसार राष्ट्र बैंकले रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने कर्जाको सीमा नबढाएको भए एनआईसी एसियाको खराब कर्जा अझ उच्च दरमा बढ्ने थियो भने पुँजीकोष पर्याप्तता अनुपात अझै घढ्ने थियो । ‘एनआईसी एसियालाई अहिले राष्ट्र बैंकको यही व्यवस्थाले बचाएको हो,’ एक बैंकरले भने ।

माछापुच्छ्रे बैंकको पुँजीकोष पनि यही सीमा वृद्धिका कारण बढेको हो । कर्जा असुली बढाउन नसक्दा माछापुच्छ्रेको खराब कर्जा पुसको २.६२ प्रतिशतबाट बढेर चैत मसान्तमा ३.६८ प्रतिशत पुगेको छ । खराब कर्जामा वृद्धि हुँदा बैंकहरुले राख्नुपर्ने प्रोभिजनिङ बढ्ने भएकाले पुँजीकोषमा दबाबमा बढ्छ ।

एनआईसी एसियासँगै हिमालयन, सिद्धार्थ, कुमारी र प्राइम बैंकको पुँजी पर्याप्तता अनुपात पनि १२ प्रतिशतभन्दा कम भएकाले थप कर्जा प्रवाह गर्न नसक्ने स्थितिमा छन् ।

पुँजी पर्याप्तता अनुपात बढाउने बैंकको योजनाबारे जानकारी लिन पटक-पटक प्रयास गर्दा पनि एनआईसी एसिया बैंकका सीईओ रोशन न्यौपाने सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्