• Menu

पशुपालक किसानलाई आत्मनिर्भर बनाउन पालिकाको अनुदान

नेपाल प्रफिट

२०८१ वैशाख २१, शुक्रबार १०:२२

पशुपालक किसानलाई आत्मनिर्भर बनाउन पालिकाको अनुदान

पर्वत । पशुपालनबाट किसानसँगै गाउँपालिकालाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले महाशिला गाउँपालिकाले पशुपालक किसानलाई अनुदान दिने भएको छ ।

महाशिला गाउँपालिका र हेफर इन्टरनेसनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका ६ वटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका  किसानलाई ३१ लाख ५० हजार अनुदान वितरण गरिने भएको हो ।

महाशिला गाउँपलिका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार पालिकाले व्यावसायिक पाख्रापालन गर्ने, गाईगोरु र भैँसीपालन गर्ने किसानलाई उक्त अनुदान दिनेछ । चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटबाट एक सय जना बाख्रापालन गर्ने किसानलाई खोर सुधारका लागि २५ लाख प्रदान गरिनेछ ।

अनुदान लिने किसानले कम्तीमा पाँचवटा माउबाख्रा पालेको हुनुपर्ने प्रावधान छ ।  अनुदान कार्यक्रममा पालिकाका ६ वटै वडाका पशुपालन गर्ने निजी फार्म, कृषक समूह, सहकारी वा साझेदारी फार्मलाई पनि समेटिएको छ ।

त्यसैगरी भकारो सुधार कार्यक्रमका लागि तीन लाख ५० हजार अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाभित्रका ५० किसानलाई भकारो सुधारका लागि अनुदान दिइने उनले बताए ।

कम्तीमा एउटा गाई, एक हल गोरु र एउटा भैँसी पालेका किसानलाई सात हजार रुपैयाँका दरले अनुदान दिइनेछ । पालिकाको एउटा वडामा १५ रोपनी क्षेत्रफलमा घाँसको स्रोत केन्द्र बनाउन एक लाख ५० हजार अनुदान दिने गाउँपालिकाले जनाएको छ । स्रोत केन्द्रबाट पालिकाका ६ वटै वडामा घाँसको बीउ र बिरुवा विस्तार गरिने छ ।

पालिकाभित्रका विभिन्न २८ वटा कृषक समूहलाई घाँसको बीउ र बिरुवा वितरण गर्न पालिकाले अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा एक लाख ५० हजार बीउ तथा बिरुवा वितरणका लागि अनुदान दिइने अध्यक्ष भुसालले जानकारी दिए ।

अनुदान लिन कृषक, सहकारी वा साझेदारी फार्मलाई १५ दिनभित्र संस्था वा फार्म दर्ताको प्रमाणपत्र, नागरिकता, निवेदन, जग्गाको जग्गाधनी पुर्जाजस्ता कागजात पालिकाको पशु सेवा शाखामा पेस गर्न अनुरोध गरिएको छ । पालिकाले केही वर्षदेखि मासु र दूध उत्पादनमा पनि अनुदान दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्