
काठमाडौं । सुनचाँदी व्यवसायीले ५ करोड रुपैयाँबराबरको सुनचाँदीका गहना बरामद भएको भन्ने हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । काठमाडौं सुनचाँदी व्यवसायी संघले सुन र चाँदीका गरगहनाको कुल अनुमानित मूल्य करिब ८१ लाख ७२ हजार ३९३ रुपैयाँ रहेकोमा ५ करोडको हल्ला चलाएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
बरामद गरगहनाको मूल्यांकन प्राविधिक टोलीबाट गरिएको संघले जनाएको छ । संघका अनुसार सम्बन्धित निकायको अनुरोधमा गरिएको प्राविधिक मूल्यांकनबाट बरामद सुनका गरगहनाको अनुमानित मूल्य ६७ लाख ३४ हजार ३५० र चाँदीका गरगहनाको अनुमानित मूल्य १४ लाख ३८ हजार ४३ रुपैयाँ रहेको छ ।

संघले वास्तविक मूल्यांकनसँग मेल नखाने र भ्रामक समाचार सम्प्रेषण नगर्ने आग्रह पनि गरेको छ । काठमाडौं सुनचाँदी व्यवसायी संघले समाचार सम्प्रेषण गर्दा आधिकारिक स्रोतबाट प्राप्त तथ्य र विवरणका आधारमा मात्र प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यम तथा सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ । ‘तथ्यपरक र जिम्मेवार सूचना प्रवाहले मात्र आमनागरिकमा सही जानकारी पुग्छ,’ संघकी अध्यक्ष रोहिनादेवी शाक्यले भनिन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal