• Menu

नेपाल मर्चेन्ट बैंकर संघद्वारा सेबोनका नवनियुक्त अध्यक्ष डा. भट्टलाई बधाई, पुँजी बजारको विकासबारे छलफल

नेपाल प्रफिट

२०८३ असार १८, १७:४८

नेपाल मर्चेन्ट बैंकर संघद्वारा सेबोनका नवनियुक्त अध्यक्ष डा. भट्टलाई बधाई, पुँजी बजारको विकासबारे छलफल

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर संघ (एमबान) को कार्यसमिति सदस्यहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग शिष्टाचार भेट गरी पदभार ग्रहण गरेको अवसरमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटका क्रममा संघले डा. भट्टको नेतृत्वमा नेपालको पुँजी बजार अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेको छ। अध्यक्ष डा. भट्टले नेपाल मर्चेन्ट बैंकर संघप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निजी क्षेत्रसँग सहकार्य र निरन्तर संवादलाई प्राथमिकता दिइने बताए।

शुभकामना आदानप्रदानसँगै दुवै पक्षबीच नेपालको पुँजी बजारको विकाससँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल भएको थियो। विशेषगरी, सामूहिक लगानी कोष, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तथा निजी स्वामित्वको लगानी (प्राइभेट इक्विटी) सम्बन्धी विषयमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा पुँजी बजारलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।

त्यसैगरी, बजारमा पारदर्शिता, सुशासन तथा नियामकीय प्रभावकारिता अभिवृद्धि गरी लगानीकर्ताको विश्वास सुदृढ बनाउने आवश्यकतामा समेत दुवै पक्षबीच जोड दिइएको थियो। भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको संघले जनाएको छ।

अन्त्यमा, नेपाल मर्चेन्ट बैंकर संघ (एमबान) र नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारको दिगो, व्यवस्थित तथा समावेशी विकासका लागि आपसी सहकार्य, समन्वय र निरन्तर संवादलाई थप सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।