
काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गर्दै स्वास्थ्य शिविर सञ्चालन तथा पौष्टिक खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरता लगायत विभिन्न सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ । सोही अभियानअन्तर्गत समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले सातै प्रदेशमा स्वास्थ्य शिविर आयोजना गरी गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा तथा पोषण सहयोग उपलब्ध गराइएको हो।
गर्भावस्था र सुत्केरी अवस्थाका बेला देखिन सक्ने पोषण अभाव, रक्तअल्पता (एनिमिया) तथा अन्य स्वास्थ्य जटिलताबाट आमा र नवजात शिशुलाई सुरक्षित राख्ने तथा यस्ता समस्याको न्यूनीकरण गर्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।
यस अभियानअन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयसँग समन्वय गरी करिब एक हजार ५० जना गर्भवती तथा सुत्केरी महिलालाई प्रत्यक्ष सेवा प्रदान गरेको छ।
स्वास्थ्य शिविरमा सहभागी महिलाको स्वास्थ्यकर्मीमार्फत आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो। साथै, उनीहरूलाई तीन महिनासम्मका लागि पुग्ने स्वास्थ्यवर्द्धक तथा पौष्टिक खाद्य सामग्री पनि वितरण गरिएको बैंकले जनाएको छ।
सानिमा बैंकले आगामी दिनमा पनि समाजका लक्षित वर्गको जीवनस्तर सुधारमा टेवा पुग्ने यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
हाल सानिमा बैंकका देशभर १३४ शाखा कार्यालय र १२७ एटीएम सञ्चालनमा रहेका छन्।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal