• Menu

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर-ह्विल ड्राइभ कम्प्याक्ट विद्युतीय एसयूभी ल्याउँदै

नेपाल प्रफिट

२०८३ असार १७, बुधबार १२:३७

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर-ह्विल ड्राइभ कम्प्याक्ट विद्युतीय एसयूभी ल्याउँदै

काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन बजारमा नयाँ प्रविधिको थप विस्तार गर्दै जगदम्बा मोटर्स प्रालिले प्रोटोन ई.एमएएस ५ (e.MAS 5) नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीका अनुसार यो नेपालमा आफ्नो वर्गकै पहिलो रियर-ह्विल ड्राइभ कम्प्याक्ट विद्युतीय एसयूभी हुनेछ।

कम्पनीले यस सवारीको आगमनले नेपाली विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ । आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन र वातावरणमैत्री विशेषतासहित विकास गरिएको यो सवारीले चालकलाई सहज, सुरक्षित र आरामदायी यात्रा अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

रियर-ह्विल ड्राइभ प्रणालीमा आधारित यस एसयूभीमा सन्तुलित तौल वितरण, उत्कृष्ट सञ्चालन क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणजस्ता विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ। यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग तथा पहाडी सडकसम्म सुरक्षित र सहज यात्रा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

शंकर समूहअन्तर्गत सञ्चालनमा रहेको जगदम्बा मोटर्सले दिगो यातायात प्रणालीको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रियस्तरका सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले देशभर फैलिएको बिक्री तथा सेवा सञ्जाल, ग्राहककेन्द्रित सेवा र बिक्रीपछिको सेवामा निरन्तर लगानी गर्दै उपभोक्तालाई विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार प्रोटोन ई.एमएएस ५ को आगमनले अत्याधुनिक प्रविधि, उच्च गुणस्तर र प्रतिस्पर्धी मूल्यमा विद्युतीय सवारी उपलब्ध गराउने दीर्घकालीन रणनीतिलाई थप मजबुत बनाउनेछ।

यस सवारीको प्राविधिक विवरण, प्रमुख विशेषता, मूल्य, बुकिङ प्रक्रिया तथा औपचारिक सार्वजनिक मितिसम्बन्धी विस्तृत जानकारी आगामी केही साताभित्र सार्वजनिक गरिने कम्पनीले जनाएको छ।