काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघ र जेएमएसबीच संघका सदस्य व्यवसायहरूमा डिजिटल प्रविधिको प्रयोग विस्तार तथा आधुनिक लेखा प्रणालीको विकासका लागि समझदारी भएको छ।
समझदारीपत्रअनुसार सहकार्यको मुख्य उद्देश्य संघमा आबद्ध व्यवसायहरूलाई जेएमएस सफ्टवेयरमार्फत डिजिटल रूपान्तरणमा सहयोग पुर्याउनु, व्यवस्थित लेखा प्रणालीको विकासमा प्रोत्साहन गर्नु तथा दुवै पक्षबीच दीर्घकालीन, पारदर्शी र पारस्परिक हितमा आधारित सहकार्यलाई सुदृढ बनाउनु रहेको छ।
सम्झौताअनुसार संघका सदस्य व्यवसायीहरूलाई विशेष छुटको व्यवस्था गरिनेछ। साथै, डिजिटल प्रविधिको प्रयोग, लेखा व्यवस्थापन तथा सफ्टवेयर सञ्चालनसम्बन्धी ज्ञान अभिवृद्धिका लागि समय-समयमा तालिम, अभिमुखीकरण तथा शैक्षिक कार्यशालाहरू सञ्चालन गरिनेछ।
त्यस्तै, प्रत्येक सदस्य व्यवसायमा सफ्टवेयर कार्यान्वयनको प्रारम्भिक चरणमा जेएमएसले लगातार सात दिनसम्म दैनिक कम्तीमा एक घण्टा व्यवसाय सञ्चालन स्थलमै पुगेर प्रत्यक्ष तालिम उपलब्ध गराउनेछ । उक्त तालिम व्यवसायी, लेखापाल, काउन्टर कर्मचारी तथा सम्बन्धित अन्य कर्मचारीलाई लक्षित हुनेछ ।
प्रारम्भिक तालिम सम्पन्न भएपछि पनि ग्राहकलाई नियमित प्राविधिक सहयोग उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसअन्तर्गत समर्पित ग्राहक सेवा टोलीमार्फत प्रत्येक कार्यदिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म टेलिफोन तथा अनलाइन माध्यमबाट आवश्यक सहयोग प्रदान गरिने समझदारीमा उल्लेख गरिएको छ ।