• Menu

भूमि व्यवस्था मन्त्रालयमा कर्मचारी सरुवा अब पूर्ण रूपमा डिजिटल, आवेदनदेखि निर्णयसम्म अनलाइन

नेपाल प्रफिट

२०८३ असार १७, बुधबार १२:११

भूमि व्यवस्था मन्त्रालयमा कर्मचारी सरुवा अब पूर्ण रूपमा डिजिटल, आवेदनदेखि निर्णयसम्म अनलाइन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा विद्युतीय प्रणालीमा आधारित बनाएको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले नयाँ डिजिटल सरुवा प्रणाली कार्यान्वयनमा ल्याएको हो।

मन्त्रालयका अनुसार अब कर्मचारी सरुवासम्बन्धी सम्पूर्ण प्रक्रिया कर्मचारीको विद्युतीय विवरणमा आधारित हुनेछ। कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी अभिलेख सम्बन्धित प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको छ।

सरुवा आवेदन व्यवस्थापनका लागि विशेष संकेत प्रणालीसमेत समावेश गरिएको मन्त्रालयले जनाएको छ। यस प्रणालीले दोहोरिएका, विशेष निगरानी आवश्यक भएका वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्नेछ। साथै, कर्मचारीले आफ्नो सरुवा निवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइनमार्फत सहजै हेर्न सक्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार सरुवासम्बन्धी निर्णयपत्र प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन्। आवश्यकताअनुसार अन्य सम्बन्धित निकायका विद्युतीय प्रणालीसँग सूचना आदान-प्रदान गर्न सकिने व्यवस्था पनि मिलाइएको छ।

यसैगरी, सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार सरुवा प्रक्रियालाई विद्युतीय प्रणालीमा रूपान्तरण गरिएको बताइन्। उनका अनुसार यस प्रणालीको कार्यान्वयनपछि सरुवामा हुने ढिलासुस्ती घट्ने, पारदर्शिता अभिवृद्धि हुने र कर्मचारीले अझ सहज, छिटो तथा विश्वासयोग्य सेवा प्राप्त गर्नेछन्।