• Menu
s

सुनचाँदी व्यवसायीद्वारा रूपान्तरण सम्मेलन आयोजना, ३५० भन्दा बढी सहभागी

नेपाल प्रफिट

२०८३ असार १४, २०:१७

सुनचाँदी व्यवसायीद्वारा रूपान्तरण सम्मेलन आयोजना, ३५० भन्दा बढी सहभागी

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले ‘रूपान्तरण सम्मेलन २०८३’ आयोजना गरेको छ । सुनचाँदी व्यवसायलाई आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ३५० भन्दा बढी व्यवसायीको सहभागितामा काठमाडौंमा शनिबार सम्मेलन आयोजना गरिएको हो ।

संघले सदस्य व्यवसायीहरूको व्यावसायिक ज्ञान तथा दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित ‘व्यवसायलाई प्रविधि र नवप्रवर्तनमार्फत सशक्त बनाऔं, सिकाऔं, अपनाऔं, बढाऔं’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको जनाएको छ ।

कार्यक्रममा लक्जरी शुल्क, भ्याट तथा सीप प्रबन्ध शुल्कसम्बन्धी वर्तमान अवस्था, व्यवसायमैत्री हिसाब-किताब तथा स्टक व्यवस्थापनका व्यावहारिक पक्ष, कर र व्यवसाय व्यवस्थापनसम्बन्धी जिज्ञासाको समाधानबारे जानकारी गराइएको छ ।

त्यस्तै, ई-बिलिङ सफ्टवेयरको डेमो प्रस्तुति तथा डिजिटल मार्केटिङबारे पनि सदस्यहरुलाई अवगत गराइएको संघका सचिव लेखरत्न शाक्यले जानकारी दिए । कार्यक्रममा सुन खरिद-बिक्री एप निःशुल्क वितरण गरिएको छ ।

संघकी अध्यक्ष रोहिनादेवी शाक्यले सुन व्यवसायीले अब परम्परागत शैलीभन्दा माथि उठेर सुनचाँदी व्यवसाय गर्नुपर्ने बताइन् । ‘अब सुनचाँदी व्यवसायीले पनि मार्केटिङ शैली बदल्नुपर्छ,’ उनले भनिन्, ‘समय धेरै परिवर्तन भइसकेकाले सुनचाँदी व्यवसायी पनि त्यसै अनुसार रुपान्तरण भएर अघि बढ्न जरुरी छ ।’ परम्परागत व्यापारिक शैलीभन्दा एआई र डिजिटल मार्केटिङ अबको आवश्यकता भएको धारणा उनले राखिन् ।