
काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण (अटो-रिन्यु) हुने नयाँ ‘सब्स्क्रिप्सन–बेस्ड’ मासिक प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकले हरेक महिना आफैं प्याकेज खरिद वा सक्रिय गरिरहनुपर्ने झन्झट हटाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार एकपटक प्याकेज सब्स्क्राइब गरेपछि मोबाइलमा पर्याप्त ब्यालेन्स भएमा हरेक ३० दिनमा उक्त प्याकेज स्वतः नवीकरण हुनेछ । टेलिकमले ‘नमस्ते रिकरिङ’ अन्तर्गत तीन प्रकारका मासिक प्याकेज उपलब्ध गराएको छ । २९९ रुपैयाँको प्याकमा सबै नेटवर्कमा ३०० मिनेट कल, ६ जीबी डाटा (४ जीबी नियमित र २ जीबी नाइट डाटा) तथा नेपाल टेलिकम नेटवर्कभित्र पठाउन मिल्ने २० वटा एसएमएस समावेश छन् ।
त्यस्तै, ४९९ रुपैयाँको प्याकमा सबै नेटवर्कमा ५०० मिनेट कल, कुल १२ जीबी डाटा (८ जीबी नियमित र ४ जीबी नाइट डाटा) तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस उपलब्ध हुनेछन् ।
७९९ रुपैयाँको प्रिमियम प्याकमा भने सबै नेटवर्कमा असीमित कल, प्रतिदिन १० जीबीका दरले मासिक कुल ३०० जीबी डाटा तथा सबै नेटवर्कमा पठाउन मिल्ने ३०० वटा एसएमएस सुविधा दिइएको छ ।
थप डाटाको आवश्यकता पर्ने ग्राहकका लागि टेलिकमले ‘एड-अन’ प्याकेज पनि उपलब्ध गराएको छ । यसअन्तर्गत ३० रुपैयाँमा एक दिनका लागि १ जीबी, ५० रुपैयाँमा तीन दिनका लागि २ जीबी र ९९ रुपैयाँमा सात दिनका लागि ४ जीबी डाटा खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार सेवाग्राहीले आफ्नो मोबाइलबाट १४१५ डायल गरी प्राप्त निर्देशनअनुसार आफूलाई आवश्यक पर्ने प्याकेज सहज रूपमा सब्स्क्राइब गर्न सक्नेछन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal