
काठमाडौं । नागरिक लगानी कोष र दोलखा जिल्लाको तामाकोशी गाउँपालिका बीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
बिहीबार सम्पन्न कार्यक्रममा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार गाउँपालिकाले श्रमिक कल्याण कोष सञ्चालन कार्यविधिअनुसार योजनामा सहभागी श्रमिकका लागि मासिक एक हजार रुपैयाँ जम्मा गर्ने व्यवस्था गर्नेछ। यसमध्ये गाउँपालिकाले मासिक ५०० रुपैयाँ योगदान गर्नेछ भने सहभागी श्रमिकले पनि मासिक ५०० रुपैयाँ जम्मा गर्नुपर्नेछ ।
योजना सञ्चालनका लागि नागरिक लगानी कोषले आवश्यक केवाईसी फाराम तथा व्यक्तिगत विवरण कार्ड निःशुल्क उपलब्ध गराउनेछ। गाउँपालिकाले भने सहभागी श्रमिक तथा उनीहरूको व्यक्तिगत खातासम्बन्धी विवरण नियमित रूपमा अद्यावधिक राख्नुपर्नेछ ।
नागरिक पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ अनुसार योजनामा सहभागी श्रमिकले ६० वर्ष उमेर पुगेपछि पेन्सन सुविधा प्राप्त गर्नेछन्। पेन्सन प्राप्त गरिरहेका सहभागीको मृत्यु वा बेपत्ता भएको अवस्थामा उनका श्रीमान् वा श्रीमतीलाई प्रचलित व्यवस्थाअनुसार आजीवन पेन्सन उपलब्ध गराइने व्यवस्था गरिएको छ। दुवैको मृत्यु भएमा खातामा रहेको बचत रकम नजिकको हकवालालाई प्रदान गरिनेछ ।
योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि खातामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म गाउँपालिकाको सिफारिसमा सापटीका रूपमा लिन सकिने व्यवस्था पनि गरिएको छ ।
यस सम्झौताले गाउँपालिकाभित्रका श्रमिकहरूको सामाजिक सुरक्षा तथा दीर्घकालीन आर्थिक संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal