• Menu

वैदेशिक रोजगारलाई व्यवस्थित गरी स्वदेशमै रोजगारी सिर्जना गर्नु मुख्य कार्यदिशा हो : श्रममन्त्री यादव

नेपाल प्रफिट

२०८३ असार १८, १८:०७

वैदेशिक रोजगारलाई व्यवस्थित गरी स्वदेशमै रोजगारी सिर्जना गर्नु मुख्य कार्यदिशा हो : श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित बनाउँदै स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताएका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री यादवले युवा उद्यमी र व्यवसायीको सहयोगीका रुपमा मन्त्रालयले भूमिका खेल्ने बताए । उनले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमीलाई पुरस्कृत र सम्मानसमेत गरे ।

मोरङस्थित प्रशंसा ‘हनि’ फर्मका सञ्चालक लोकबहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ भने अन्य ६ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

कतारमा रोजगार गरी स्वदेश फर्केर मौरीपालन गर्दै उद्यमीका रुपमा स्थापित भएका राईले उद्यम यात्राको अनुभव सुनाए । उनले मेहनत भए आफ्नै देशमा आम्दानी गर्न सकिने विश्वास व्यक्त गरे ।

यसैगरी, झापाका मनिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यमकुमार गोले, पर्वतका शिवकुमार क्षेत्री, अर्घाखाँचीका दिनेश खत्री र बाजुराका कर्मराज मल्लले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरे ।

कार्यक्रममा मन्त्रालयले बालश्रममुक्त घोषणा भएका १३ स्थानीय तहलाई सम्मान गरिएको थियो । काठमाडौंको चन्द्रागिरि नगरपालिका, म्याग्दीको रघुगंगा गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका र बाणगङ्गा नगरपालिका, इलामको सूर्योदय नगरपालिका, तनहुँको म्याग्दे गाउँपालिका, भोजपुरको पौवादुङमा गाउँपालिका, बागलुङ्गको बरेङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका र फेदीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाका प्रमुखले सम्मान र प्रशंसापत्र ग्रहण गरे ।

मन्त्रालयले रोजगार श्रमिकको मापदण्ड पूरा गरेका ६ व्यवसायी प्रतिष्ठानलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नवजीवन अस्पताल प्राली, होङ्सी शिवम् सिमेन्ट, पूर्वी नवलपरासी, अम्बे स्टिल लिमिटेड, एशियन पेन्ट्स नेपाल, मारुती सिमेन्ट लिमिटेड, मैनावती स्टिल इन्डष्ट्रिज लिमिटेड रहेका छन् ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले श्रमिकको हकहित संरक्षण, रोजगार वातावरण सिर्जना र बालश्रममुक्त समाज निर्माण गर्न मन्त्रालयले सधैँ प्रभावकारी भूमिका निर्वाह गर्न तत्पर रहँदै आएको बताए । उनले यी तीन पक्ष एकअर्काकामा अन्तर सम्बन्धित भएकाले सुधारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।