• Menu

नाफा कमाएर पनि सेयरधनीलाई बाँड्न नसक्ने अवस्थामा ९ बैंक, सबैभन्दा दबाबमा एनआईएमबी, हिमालयन र कुमारी

नेपाल प्रफिट

२०८१ वैशाख ९, आइतबार ०९:३७

नाफा कमाएर पनि सेयरधनीलाई बाँड्न नसक्ने अवस्थामा ९ बैंक, सबैभन्दा दबाबमा एनआईएमबी, हिमालयन र कुमारी

काठमाडौं । वाणिज्य बैंकहरु नाफा कमाएर पनि लगानीकर्तालाई बाँड्न नसक्ने अवस्थामा पुगेका छन् । बैंकहरूको खुद नाफा सकारात्मक भए पनि सेयरधनीलाई बाँड्न मिल्ने नाफा भने अधिकांश बैंकको ऋणात्मक छ ।

सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये चैत मसान्तसम्म ९ वटाको वितरणयोग्य नाफा ऋणात्मक छ । हालै प्रकाशित वित्तीय विवरणअनुसार चैत मसान्तसम्म २० वाणिज्य बैंकहरूको औसत वितरणयोग्य नाफा ९ अर्ब ५३ करोडले ऋणात्मक छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा (एनआईएमबी), हिमालयन र कुमारी बैंकको वितरणयोग्य नाफा सबैभन्दा बढी ऋणात्मक छ । चैतसम्ममा एनआईएमबीको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड १६ लाख, हिमालयनको ५ अर्ब २४ करोड २४ लाख र कुमारीको ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ छ ।

वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार बैंकहरूको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४६ प्रतिशतले घटेको छ ।

चालु आवको ९ महिनामा २० वाणिज्य बैंकले ४० अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरुको खुद नाफा ४७ अर्ब १ करोड रुपैयाँ थियो ।

चैतसम्ममा सातवटा बैंकको नाफा भने बढेको छ । कृषि विकास, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम, लक्ष्मी सनराइज, हिमालयन र सिद्धार्थ बैंकले प्रतिकूल अवस्थामा पनि नाफा बढाएका हुन् ।

कृषि विकास बैंकले सबैभन्दा धेरै ९७ प्रतिशत नाफा बढाएको छ । गत वर्ष चैतसम्ममा १ अर्ब ४ करोड १० लाख नाफा कमाएको कृषि विकासले चालु आवको सोही अवधिमा २ अर्ब ५ करोड ३१ लाख नाफा कमाएको छ ।

त्यस्तै लक्ष्मी सनराइजले २७.७ प्रतिशतले नाफा बढाएको छ । गत आवको पहिलो ९ महिनामा १ अर्ब २६ करोड ५३ लाख नाफा कमाएको लक्ष्मी सनराइजले यो वर्षको ९ महिनामा १ अर्ब ६१ करोड ५९ लाख नाफा कमाएको छ ।

धेरै नाफा कमाउनेको सूचीमा अग्रस्थानमा भने नविल बैंक छ । नविलले समीक्षा अवधिमा सबैभन्दा धेरै ४ अर्ब ६६ करोड खुद नाफा कमाएको छ । बैंकको नाफा भने गत वर्षको सोही अवधिकी तुलनामा ८.७ प्रतिशतले घटेको हो ।

सबैभन्दा थोरै नाफा नेपाल बैंकको छ । नेपाल बैंकले ९ महिनामा जम्मा १३ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको चैतसम्ममा १ अर्ब ७८ करोड २३ लाख नाफा कमाएको थियो । नेपाल बैंकको नाफा गत आवको तुलनामा ९२.६७ प्रतिशतले घटेको हो ।

बैंकहरूको नाफा घट्नुको मुख्य कारो कर्जा असुली हो । साँवा ब्याज असुली गर्न नसकपछि बैंकहरुले प्रोभिजन रकम बढाउनुपरेको छ । त्यसले नाफा प्रभावित भएको हो । आर्थिक चहलपहल बढ्न नसक्दा समग्र बैंकिङ क्षेत्रले यतिखेर रिकभरीको समस्या झेलिरहेको छ ।

ऋणीले साँवा ब्याज भुक्तानी गर्न नसक्दा बैंकहरुको निष्क्रिय कर्जामा उच्च वृद्धि भइरहेको छ । अहिले १० वटा बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ । ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, प्राइम, लक्ष्मी सनराइज, नेपाल बैंक, नविल, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे र हिमालयन बैंकको निष्क्रिय कर्जा ४ प्रतिशत नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्