• Menu

कोरिया धन्धा चलाएकाहरुको अर्को बदमासी : अरुको कम्पनी दुरुपयोग गरेर फर्जी तालिम र नक्कली प्रमाणपत्र वितरण

डीआर आचार्य

२०८१ वैशाख १९, बुधबार ११:०३

कोरिया धन्धा चलाएकाहरुको अर्को बदमासी : अरुको कम्पनी दुरुपयोग गरेर फर्जी तालिम र नक्कली प्रमाणपत्र वितरण

काठमाडौं । दक्षिण कोरिया पठाउने अवैध धन्धा चलाइरहेका कांग्रेस नेता र मन्त्रीका स्वकीय सचिवहरु (पीए)को अर्को बदमासी फेला परेको छ । कोरिया पठाइदिन्छु भन्दै करिब ४ सय युवाबाट करोडौं रकम उठाएका उनीहरुले अरुको कम्पनी दुरुपयोग गरेर फर्जी तालिम सञ्चालन गरी नक्कली प्रमाणपत्र वितरण गरेको भेटिएको हो ।

कोरिया पुर्‍याइदिने भन्दै युवाबाट पैसा उठाएका नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ का सभापति डिकेन्द्र इदिङ्गो, कांग्रेससम्बद्ध विद्यार्थी संगठन नेविसंघका केन्द्रीय सदस्य भुपेन्द्रसिंह थेवे, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईका स्वकीय सचिव एवं कांग्रेसका इलाम जिल्ला सदस्य प्रकाश भट्टराई, इलामकै सुरेन राईलगायतले युवालाई फर्जी तालिम दिएर नक्कली प्रमाणपत्र दिएका छन् ।

‘सिजनल कोटा’का नाममा अवैध तरिकाले कोरिया पठाउन पैसा उठाइएका युवालाई पश्चिमाञ्चल टेक्निकल एजुकेसन एन्ड सेक्युरिटी सर्भिस (प्रा.) लिको नाममा फर्जी तालिम सञ्चालन गरी नक्कली प्रमाणपत्र वितरण गरिएको छ । जनही २० हजारदेखि २८ हजारसम्म पैसा लिएर २०८० भदौमा १० दिनको वाइल्डिङ तालिममा राखिएका युवालाई २०७२ र ७४ सालको प्रमाणपत्र बनाइएको छ । काठमाडौंको भत्केको पाटीमा १० दिन तालिम लिएका युवाको प्रमाणपत्रमा ६ महिना तालिम लिएको उल्लेख छ ।

‘हामीले २०८० भदौमा १० दिनको तालिम लिएका हौं,’ झापाका कुलप्रसाद उप्रेतीले भने, ‘तालिम फर्जी भएको र नक्कली प्रमाणपत्र वितरण गरेको बारेमा थाहा थिएन ।’ उनीसँग तालिम र प्रमाणपत्रबापत २० हजार रुपैयाँ लिएका थिए ।

आफूहरुसँग करिब ४ सय युवाले तालिम लिएको तर केहीलाई मात्र प्रमाणपत्र प्रदान गरेको जानकारी आफूले पाएको उनले बताए । धेरैलाई प्रमाणपत्र वितरण गर्दा बदमासी बाहिरिने डरले उनीहरुले अधिकांशको नक्कली प्रमाणपत्र आफैंले राखेको उप्रेतीको अनुमान छ ।

कोरियाको ‘सिप बिल्डिङ’मा लैजाने भनेर तालिम लिइएका युवाबाट लगत्तै भिसा आउँछ भनेर दसैंअघि नै पैसा उठाइएको थियो । ‘चार सय जनामा दुई सय जना छानेको तपाईंहरु पर्नुभयो’ भनेर हरेक युवासँग पैसा उठाइएको बुझिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)बाट मान्यताप्राप्त पश्चिमाञ्चल टेक्निकल एजुकेसन एन्ड सेक्युरिटी सर्भिस (प्रा.) लि.को केन्द्रीय कार्यालय पोखरामा छ । नक्कली प्रमाणपत्रमा संस्थाको ठेगाना कलंकी, काठमाडौं लेखिएको छ ।

यो संस्थाले २०८० सालमा पोखराबाहिर धरानमा सेक्युरिटी तालिम दिएको छ, जसमा २० युवा सहभागी थिए । त्यस्तै स्याङ्जाको वालिङमा पनि २०८० सालमै प्लम्बिङ तालिम सञ्चालन गरेको थियो । त्यसमा पनि २० युवा नै सहभागी थिए ।

पश्चिमाञ्चलले २०७७ मा काठमाडौंमा २० जनालाई ब्युटिपार्लरसम्बन्धी र २०७८ मा ९० जनालाई टेलरिङ र ब्युटिपार्लरसम्बन्धी तालिम दिएको थियो । ‘त्यसबाहेक काठमाडौंमा कुनै पनि तालिम सञ्चालन गरिएको छैन,’ कम्पनीका प्रबन्ध निर्देशक भुपाल रानाले नेपाल प्रफिटसँग भने ।

कम्पनीको प्रोफाइल, प्रमाणपत्र र स्ट्याम्प सबै दुरुपयोग भएको उनले दाबी गरे । ‘यो सबै दुरुपयोग हो,’ उनले भने, ‘हामीले वाइल्डिङसम्बन्धी कुनै पनि तालिम सञ्चालन गरेका छैनौँ, तालिमबिना प्रमाणपत्र दिने कुरा पनि आउँदैन ।’

कोरिया पठाइदिने भनेर फर्जी तालिम दिएर नक्कली प्रमाणपत्र वितरण गरेको गिरोहले युवाबाट २०८० को दसैंआसपास नै जनही ३ लाखदेखि ५ लाखसम्म उठाएको छ । उनीहरुले कोरिया जाँदा कसैलाई १५ लाख र कसैलाई २८ लाखसम्म तिर्नुपर्ने बताएका छन् ।

कांग्रेसका प्रतिनिधिसभा क्षेत्र नम्बर २ इलामका सभापति इदिङ्गो, नेविसंघका केन्द्रीय सदस्य थेवे, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईका स्वकीय सचिव भट्टराई, इलामकै सुरेन राईलगायतले युवाबाट पहिलो चरणमा ३ लाखदेखि ५ लाखसम्म उठाएका छन् । पैसा दिएको लामो समय भइसक्दा पनि कोरिया नपठाएपछि युवाहरुले फिर्ता गर्न ताकेता गरे । तर, उल्टै धम्की आउने गरेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्