• Menu

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८१ जेठ ४, शुक्रबार १०:२७

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धि हुने विश्वास व्यक्त गरे ।

‘छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ । त्यसैगरी भारतको प्रसारण लाइन हुँदै बंगलादेशसँग विद्युत् व्यापार गरिनेछ,’ उनले भने, ‘मेरो कार्यकालमा यति महत्त्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ । यो नेपालको जलविद्युत क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धिको यात्रा संकल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो ।’

बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुंगा सावित हुने उनको विश्वास छ । प्रधानमन्त्री प्रचण्डले छिमेकी मुलुक भारतमात्र होइन, अर्को छिमेकी मुलुक बंगलादेशले समेत नेपालको बिजुली लैजाने गरी छिट्टै सम्झौता हुने बताए ।

विद्युत् निर्यातमात्र होइन, स्वदेशभित्रै खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय उपकरण र सवारीसाधनलाई प्रोत्साहन गरी विद्युतको खपत बढाउँदै जाने सरकारको योजना रहेको जानकारी गराए ।

‘देशको विकास र समृद्धिका निम्ति सबैभन्दा महत्त्वपूर्ण र सम्भावनायुक्त क्षेत्र विद्युत नै हो भन्ने वैचारिक स्पष्टताका साथ सरकारले काम गरिरहेको छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले कुनै बेला दैनिक १६ घण्टाको चरम लोडसेडिङको अवस्थामा रहेको मुलुकमा अहिले वर्षायाममा विद्युत निर्यात गर्ने अवस्थामा पुगेको स्मरण गर्दै यो अवस्था सिर्जना गर्नमा निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

‘अहिले निजी क्षेत्रले ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको र करिब २० हजार मेगावाटबराबरका आयोजना निर्माणको विभिन्न चरणमा छन्,’ उनले भने, ‘यसले समेत निजी क्षेत्रको ऊर्जा विकासको भूमिका र महत्त्वलाई दर्शाएको छ ।

आन्तरिक खपत तथा निर्यातका लागि ऊर्जा उत्पादनमा विशेष ध्यान दिनुपर्ने उनले बताए । प्रधानमन्त्रीले ऊर्जा उत्पादनमा इप्पानको भूमिका महत्त्वपूर्ण रहने पनि स्पष्ट पारे । उनले विद्युत उत्पादनका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए ।

तेस्रो लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको र यसले लगानी भित्र्याउनका लागि स्वदेशी, विदेशी लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले लगानी प्रवर्धनमा बाधक देखिएका ऐन अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थितिको अन्त्य भएको स्पष्ट पारे । उनले निजी क्षेत्रले उठाउँदै आएका कतिपय माग सम्बोधन भएको र बाँकी मागसमेत क्रमशः सम्बोधन गरिँदै जाने बताए ।

नीतिगत, कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीमा देखिएका समस्या समाधान गर्न सरकार लागिपरेको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले संसद्मा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गरेको स्पष्ट पारे । ‘अब हाम्रो ध्यान नीति तथा कार्यक्रमअनुरूपको बजेट निर्माणमा छ,’ उनले भने ।