• Menu

कांग्रेस नेता र मन्त्रीका पीएको कमाउ धन्धा, दक्षिण कोरिया पठाइदिन्छु भन्दै करिब ४ सय युवाबाट करोडौं असुली

डीआर आचार्य

२०८१ वैशाख १६, आइतबार १९:१८

कांग्रेस नेता र मन्त्रीका पीएको कमाउ धन्धा, दक्षिण कोरिया पठाइदिन्छु भन्दै करिब ४ सय युवाबाट करोडौं असुली

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जाने वैधानिक तरिका दुईवटा मात्र छन् । एउटा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया भाषा परीक्षा पास गरेर र अर्को व्यक्तिगत श्रम स्वीकृति लिएर ।

व्यक्तिगतबारे अधिकांश मानिस अवगत नै छन् । ईपीएसको प्रक्रिया यस्तो छ ।

भाषा परीक्षा पास भएकाहरुको नाम प्रक्रिया पूरा गरेर रोस्टरमा राखिन्छ । कोरियाका रोजगारदातालाई श्रमिक चाहिए अनलाइनमार्फत जब सेन्टरमा श्रमिकको माग गर्छन् । जब सेन्टरले सूची उपलब्ध गराइदिन्छ । सोही सूचीबाट रोजगारदाताले श्रमिक छनोट गर्छन् । ईपीएस सेन्टर र ईपीएस शाखाका अनुसार यसमा कुनै पनि निकाय वा व्यक्तिको संलग्नता हुँदैन ।

तर, दक्षिण कोरिया गएकाहरुले गरेको आकर्षक आम्दानीमा लोभिएका, मुलुकमै स्वरोजगारमा रहेका या कुनै पेसा व्यवसाय गरिरहेका युवालाई थप ‘ब्ल्याकमेलिङ’ गरेर ‘कोरिया पठाइदिन्छु’ भन्दै करोडौं पैसा उठाएको पाइएको छ । यस्तो कार्यमा नेपाली कांग्रेस नेता, कार्यकर्तादेखि मन्त्रीका स्वकीय सचिव (पीए) सम्म संलग्न भएको भेटिएको छ ।

इलामका ज्ञानु दाहाल करिब ५० लाख लगानी रहेको हार्डवेयर पसल सञ्चालन गरिरहेका थिए । कमाइ राम्रै थियो । एक वर्षअघि स्थानीय सुरेन राईले उनलाई ‘आफ्नो माथिल्लो तहमा चिनजान रहेकाले दक्षिण कोरिया सजिलै पठाइदिने’ बचन दिए ।

सुरुमा दाहालले पत्याएनन् । तर, कोरिया गएका युवाले राम्रो कमाएर पैसा पठाएको खबर उनले सुनिरहेका थिए । उनीहरुको परिवारको आर्थिक स्थितिमा केही वर्षको अवधिमै ठूलो परिवर्तन आएको थियो । यता, देश आर्थिक मन्दीको चपेटामा पर्दा उनको व्यवसाय पनि खस्किँदै गएको थियो ।

आम्दानी सुक्दै जाँदा अझ बढी कमाउने लोभले गाँज्न थाल्यो । बीचबीचमा सुरेनले कोरिया पठाइदिने प्रलोभन देखाइरहेका थिए । ‘कोरिया जान पाइन्छ भने किन नजाने त भनेर सुरेन राईलाई २०७९ फागुन ९ गते अढाइ लाख रुपैयाँ दिएँ,’ उनले नेपाल प्रफिटसँग भने, ‘तर कोरिया पठाउनेभन्दा पनि ठगी धन्दाको योजना बुनिएको रहेछ, मलाई के थाहा ? अहिले पैसा उठाउने लडाइँ चलिरहेको छ ।’

कोरिया जानका लागि धेरै इलामेलीका घरखेत, गाईभैंसी सबै सकिएको उनले बताए । ‘कोरिया जाने लोभमा मानिसहरु भएका पेसा व्यवसाय सबै छाडेर बसेका छन्,’ दाहालले भने, ‘गाईभैंसी, घरखेत सबै सकेका छन् ।’

सुरेनलाई पनि कसैले फसाएको उनको अनुमान छ । ‘उनी कोरियन भाषा पढाएर राम्रै कमाउँथे,’ दाहालले भने, ‘मानिससँगको चिनजान र स्टाटस हेरेर पनि कारोबार गरियो तर नराम्रोसँग फसियो ।’ इलामकै एकातप्पाका लक्ष्मी श्रेष्ठ पनि त्यसैगरी पैसा बुझाएर फसेको उनले बताए ।

युवालाई कोरिया पठाइदिन्छु भन्दै पैसा उठाउन नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति इलाम क्षेत्र नम्बर २ का सभापति डिकेन्द्र इदिङ्गो पनि संलग्न छन् । इलामको माङ्सेबुङ गाउँपालिकाका पूर्वअध्यक्ष इदिङ्गोले माई जोगमाई गाउँपालिकाका आइन्द्र लिम्बूसँग तीन लाख लिएका छन् । ‘कोटा सकिन्छ छिटो गर्नुस्’ भनेर उनले पैसा उठाएको लिम्बूले बताए ।

कांग्रेस नेता इदिङ्गोको इसेवा अकाउन्टमा मंसिरमा गजेन्द्र दाइ (आइन्द्रले हामीसँग लिएको नाम)ले तीन लाख हालिदिएका छन् । इदिङ्गोलाई पैसा दिएपछि उनी ललितपुरको भैंसेपाटी बस्न थाले । अहिले पनि उनी यतै छन् । ‘उहाँ (डिकेन्द्र इदिङ्गो)ले काम भइहाल्छ भनेपछि आएँ,’ उनले भने, ‘भैंसेपाटीमा बस्छु, हिजोआज त आम्दानीका लागि सानोतिनो काम पो गर्न थालेको छु ।’

आइन्द्र किसान हुन् । आफ्नै गाउँको केटी बिहे गरेको र आफूले फुपाजु भन्नुपर्ने मान्छे भएकाले विश्वास गरेर पैसा दिएको तर फसेको उनले बताए । नेता इदिङ्गोले आइन्द्रलाई शरतसिंह भण्डारी श्रममन्त्री भएका बेला ‘मिलाएर कोरिया पुर्‍याइदिन्छु’ भनेका थिए । ‘अहिलेका श्रममन्त्रीले रोकिराखेको छ रे,’ आइन्द्रले भने, ‘अब चुनावपछि कुरा गरौं भन्नुभएको छ ।’

उनले इलाममा वाइल्डिङ सिकेका हुन् । तर, प्रमाणपत्र पाएका छैनन् । त्यसका लागि २० हजार तिरेका छन् ।

कोरिया पठाइदिन्छु भन्दै युवाबाट पैसा उठाउने अर्का व्यक्ति हुन्, नेपाली कांग्रेससम्बद्ध विद्यार्थी संगठन नेविसंघका केन्द्रीय सदस्य भुपेन्द्रसिंह थेवे । उनले पनि धेरै युवाबाट ५ लाखसम्म उठाएको प्रमाण हामीलाई प्राप्त भएको छ ।

कोरिया लगिदिने प्रलोभनमा पारेर झापाका कुलप्रसाद उप्रेतीबाट २०८० असोज ८ गते भुपेन्द्रले ५ लाख लिएका छन् । इलामकै मोहन थेबेबाट पनि भुपेन्द्रले ३ लाख रुपैयाँ असुलेका छन् । त्यस्तै ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका याम सुब्बाबाट डेढ लाख लिएका छन् ।

प्रकाश भट्टराई

युवाबाट पैसा उठाउने अर्का व्यक्ति हुन्, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईका स्वकीय सचिव प्रकाश भट्टराई । नेपाली कांग्रेसका इलाम जिल्ला सदस्य भट्टराईले याम सुब्बाबाट ५० हजार रुपैयाँ उठाएका छन् । त्यस्तै इलामका राजेन्द्र निरौलाबाट भट्टराईले ५ लाख लिएको प्रमाण हामीलाई प्राप्त भएको छ ।

उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता शशांक कोइराला, संखुवासभाका सांसद दीपक खड्का, प्रदेशमन्त्री शमशेर राई लगायतसँगको सम्बन्ध देखाएर प्रभावमा पारेको पीडितहरुले बताएका छन् । ‘त्यति ठूला मान्छेसँगको उठबस देखेपछि काम गरिदिन्छन् होला भन्ने लागेर पैसा दिएका हौं,’ अधिकांश पीडितको भनाइ हो यो ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग भुपेन्द्र ।

कोरिया लैजान उनीहरुले मान्छे हेरेर १५ लाखदेखि २८ लाख रुपैयाँसम्म लाग्ने बताएका थिए । त्यसका लागि कोरियन टिम नै आएको भनेर युवालाई प्रलोभनमा पारिएको थियो ।

कोरिया लैजाने भनेर सुरुमा युवाहरुलाई भदौमा काठमाडौं बोलाएर भत्केको पाटीमा वाइल्डिङ तालिम दिइएको थियो । त्यसमा पनि युवाबाट मनपरी पैसा लिइएको छ । जम्मा १० दिन तालिममा सहभागी गराएर २० हजार लिएको पीडितले बताएका छन् । तर, उनीहरुलाई ६ महिना तालिम दिएको भनेर २०७२ र २०७४ सालतिरका प्रमाणपत्र बनाइएका छन् । त्यो ट्रेनिङ सेन्टर र प्रमाणपत्र पनि नक्कली बनाइएको प्रमाण नेपाल प्रफिटले प्राप्त गरेको छ ।

कोरियाको ‘सिप बिल्डिङ’मा लैजाने भनेर तालिम लिइएका युवाबाट लगत्तै भिसा आउँछ भनेर दसैंअघि नै पैसा उठाइएको थियो । काठमाडौं आउँदा, तालिम लिँदा, बस्दा, खाँदा र फर्किंदा पीडित युवाको अर्को ६०-७० हजार रुपैयाँ खर्च भएको छ ।

तालिममा करिब चार सय युवा सहभागी भएको झापाका उप्रेतीले बताएका छन् । ‘चार सय जनामा दुई सय जना छानेको तपाईंहरु पर्नुभयो भनेर हरेक युवासँग पैसा उठाइएको रहेछ,’ उनले भने ।

तालिमपछि तीन दिन लगाएर सीप परीक्षण गरिएको थियो । सीप परीक्षणमा कोरियन नै सहभागी रहेको उप्रेतीले बताए । यसले ठगी कार्यमा कोरियनहरुलाई पनि प्रयोग गरिएको अनुमान गर्न सकिन्छ ।

सिरिजंघाका याम सुब्बा तीनपटक प्रयास गर्दा वैधानिक तरिकाबाट नभएपछि हैरान भएका बेला ठगी समूहको फन्दामा परेका हुन् । १३-१४ वर्षदेखि झापाको बिर्तामोड बस्दै आएका उनी हाउस वायरिङमा निपूर्ण छन् ।

‘कोरियन भाषा पढिरहेको थिएँ, ३९ वर्षको भइसकियो, पटक-पटक प्रयास गर्दा पनि जान सकिएको थिएन, गाउँको छिमेकी भतिजो पर्ने भुपेन्द्रसिंहले म कोरिया पठाइदिन्छु भनेपछि पत्याएँ, भइहाल्छ नि भनेर पैसा दिएँ, नमज्जाले फसियो,’ उनले भने ।

अहिले पैसा माग्दा थेबेले ‘जे मन लाग्छ गर, जे सक्छस् गर, सक्छस् भने पुलिस रिपोर्ट गर,’ भनेर धम्क्याउने गरेका छन् । ‘अब उनीहरु पावर भएका मान्छे, केही गरिहाल्ने हुन् कि भनेर डर पनि पो लाग्छ,’ उनले भने ।

अर्का इलामकै ज्ञानबहादुर गुरुङले पनि ‘खास कोरिया पठाउने म पो हो त’ भन्दै युवाबाट पैसा उठाएका छन् । पैसा उठाउने कार्यको नेतृत्व भने ताप्लेजुङको सिरिजंघा गाउँपालिका १ स्थायी घर भएका सुरेश इवारामले गरिरहेको अनुमान छ ।

सुरेश दक्षिण कोरियामा लामो समय बसेर आएका हुन् । उनी अहिले पनि नेपाल-कोरिया आवतजावत गरिरहन्छन् । पीडित युवाका अनुसार सुरेशले दक्षिण कोरियन केटी बिहे गरेका छन् । काठमाडौंमा घर छ । अचेल गाउँ त्यत्ति जाँदैनन् । सबै सेटिङ मिलाउँछु भनेर उनैले पैसा उठाउने कार्यको नेतृत्व गरिरहेको अधिकांशको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्