• Menu

काठमाडौं सुनचाँदी व्यवसायी संघको अध्यक्षमा उम्मेदवारी दिएकी रोहिना भन्छिन्- सोच बदल्ने चाहनाले नेतृत्व दाबी गरेको हुँ

नेपाल प्रफिट

२०८० फागुन २९, मंगलबार १५:३१

काठमाडौं सुनचाँदी व्यवसायी संघको अध्यक्षमा उम्मेदवारी दिएकी रोहिना भन्छिन्- सोच बदल्ने चाहनाले नेतृत्व दाबी गरेको हुँ

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघको अध्यक्ष पदका लागि पहिलो पटक महिलाबाट उम्मेदवारी परेको छ । संघको चैत ३ गते हुने सातौं अधिवेशन तथा २१औं वार्षिक साधारणसभामा अध्यक्ष पदका लागि रोहिना देबी शाक्यले उम्मेदवारी दिएकी हुन् ।

रोहिनाले अध्यक्ष पदका लागि अर्का उम्मेदवार सुरेश शाक्यसँग प्रतिस्पर्धा गर्नेछिन् । अध्यक्षमा रोहिना र सुरेशको मात्र उम्मेदवारी परेको छ ।

यसअघि सहमतिमा संघका सबै पदाधिकारी र सदस्यको टुंगो लाग्दै आएकोमा यसपटक निर्वाचन हुने भएको हो । विगतका चार कार्यकालमा नेतृत्वमा आउन चाहने महिलाले पनि पुरुषहरुलाई पद छाडिदिँदै आएका थिए । हरेक पटक पुरुषहरुले सहमतिमा नेतृत्व लिँदै आएका थिए ।

तर, आगामी कार्यकालका लागि रोहिनाले रुचि देखाउँदा उनलाई अध्यक्ष बनाउन सहमति जुटेन । बरु प्रतिस्पर्धी उम्मेदवारलाई अघि सारिएको छ । सुरेश अहिलेको कार्यकालको अध्यक्ष हुन् । उनले दोहोर्‍याएर उम्मेदवारी दिएका हुन् ।

अहिलेको कार्यसमितिमा सचिवको भूमिकामा रहेर प्रभावकारी ढंगले काम गर्दा पनि उनलाई स्वत: अध्यक्ष हुन नदिइएको हो । ‘नेतृत्व परिवर्तन गर्न त्यति सजिलो कहाँ छ र !’ उनी भन्छिन्, ‘त्यसमाथि महिलालाई झन् सहजै दिइँदैन, सोच बदल्ने चाहनासहित यसपटक उम्मेदवारी दिएको छु ।’

अध्यक्ष निर्वाचित भए संघमा आबद्ध साढे ७ सयभन्दा बढी सदस्यहरुको मनोभावना बुझेर काम गर्ने उनको योजना छ । ‘उहाँहरुकै आग्रहका कारण ममा नेतृत्व लिने आकांक्षा बढेको हो,’ रोहिनाले भनिन्, ‘चुनाव नजिकिँदै जाँदा जित्छु भन्ने विश्वास पनि बढेको छ ।’

संघको आगामी कार्यकालका लागि सचिव र कोषाध्यक्षसहित चार जना निर्विरोध निर्वाचित भइसकेका छन् । संघको आगामी कार्यकालका लागि सचिवमा लेखरत्न शाक्य, कोषाध्यक्षमा रमेशमान शाक्य, सहसचिवमा अभिषेक शाक्य र सहकोषाध्यक्षमा पदमेश शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।

चैत ३ गते हुने निर्वाचनले अब अध्यक्ष, उपाध्यक्ष र ११ सदस्य चयन गर्नेछ । उपाध्यक्षमा उपेन्द्रकाजी शाक्य, मुक्तिरत्न बज्राचार्य र देशरत्न बज्राचार्यले उम्मेदवारी दिएका छन् । ११ सदस्य पदका लागि १३ जनाको उम्मेदवारी परेको संघले जनाएको छ । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्