• Menu

काठमाडौं सुनचाँदी व्यवसायी संघमा सचिव र कोषाध्यक्षसहित ४ जना निर्विरोध निर्वाचित

नेपाल प्रफिट

२०८० फागुन २९, मंगलबार १३:५४

काठमाडौं सुनचाँदी व्यवसायी संघमा सचिव र कोषाध्यक्षसहित ४ जना निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघको आगामी कार्यकालका लागि सचिव र कोषाध्यक्षसहित चार जना निर्विरोध निर्वाचित भएका छन् । चैत ३ गते हुने संघको सातौं अधिवेशन तथा २१औं वार्षिक साधारणसभामा सचिव, कोषाध्यक्ष, सहसचिव र सहकोषाध्यक्ष पदमा एकल उम्मेदवारी परेको हो ।

संघको आगामी कार्यकालका लागि सचिवमा लेखरत्न शाक्य, कोषाध्यक्षमा रमेशमान शाक्य, सहसचिवमा अभिषेक शाक्य र सहकोषाध्यक्षमा पदमेश शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत ज्ञानरत्न शाक्यले जानकारी दिए ।

चैत ३ गते हुने निर्वाचनले अब अध्यक्ष, उपाध्यक्ष र ११ सदस्य चयन गर्नेछ । अध्यक्षमा सुरेश शाक्य र रोहिना देबी शाक्यको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा उपेन्द्रकाजी शाक्य, मुक्तिरत्न बज्राचार्य र देशरत्न बज्राचार्यले उम्मेदवारी दिएका छन् ।

११ सदस्य पदका लागि १३ जनाको उम्मेदवारी परेको संघले जनाएको छ । संघको फागुन २४ गते प्रकाशित सूचनाअनुसार फागुन २६ गते दिउँसो ४ बजेसम्म उम्मेदवारीका लागि समय तोकिएको थियो ।

संघका सदस्य ७५० छन् । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । अध्यक्षमा पहिलो पटक महिला उम्मेदवारी परेको हो भने संघको चुनावमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघिका चार कार्यसमिति सहमतिबाट गठन हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्