• Menu

नेप्सेमा सूचीकृत कम्पनीको वर्गीकरण

ग्लोबल आईएमई र नबिलसहित ८ वाणिज्य बैंक ‘ए’ वर्गमा, कुमारी र प्रभुसहित ४ बैंक सबैभन्दा कमजोर समूहमा

नेपाल प्रफिट

२०८० फागुन ४, शुक्रबार १८:०६

ग्लोबल आईएमई र नबिलसहित ८ वाणिज्य बैंक ‘ए’ वर्गमा, कुमारी र प्रभुसहित ४ बैंक सबैभन्दा कमजोर समूहमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको वर्गीकरण गरिएको छ । नेप्सेले सूचीकृत २७१ कम्पनीलाई विभिन्न सूचकका आधारमा ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी ४ वर्गमा वर्गीकरण गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार कम्पनीहरुको वर्गीकरण गरेको नेप्सेले जनाएको छ । नयाँ वर्गीकरणअनुसार ८ वाणिज्य बैंकमात्र ‘ए’ वर्गमा परेका छन् ।

सञ्चालनमा रहेका २० मध्ये नबिल र ग्लोबल आईएमईसहित सिटिजन, एभरेस्ट, नेपाल एसबीआई, सानिमा, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकमात्र नेप्सेको ‘ए’ वर्गमा परेका हुन् ।

नेप्सेका अनुसार ३१ कम्पनी ‘ए’ वर्गमा परेका छन् भने । ‘ए’ वर्गमा ८ वाणिज्य बैंकसहित ७ विकास बैंक, एउटा फाइनान्स कम्पनी, ६ माइक्रोफाइनान्स, ३ वटा हाइड्रोपावर कम्पनीलगायत छन् ।

‘बी’ वर्गमा परेका ३५ कम्पनीमध्ये ७ वटा वाणिज्य बैंक नै छन् । ‘बी’ वर्गमा हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नेपाल बैंक, एनआईसी एसिया, एनएमबी र प्राइम बैंक परेका हुन् ।

नेप्सेको सूचीकरणमा ४ बैंक पुछारको वर्गमा परेका छन् । कुमारी, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र कृषि विकास बैंक ‘जेड’ वर्गमा परेका हुन् ।

चुक्ता पुँजी कम्तीमा १ अर्ब रहेको, सूचीकरण भएको कम्तीमा ३ वर्ष पूरा भएको, ३ आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको जस्ता सर्त पूरा गर्ने कम्पनीलाई नेप्सेले ‘ए’ वर्गमा राख्ने गरेको छ । समग्रमा उत्कृष्ट सुशासन भएका कम्पनी ‘ए’ वर्गभित्र पर्छन् ।

चुक्ता पुँजी कम्तीमा ५० करोड भएका, सूचीकरण भएको ३ वर्ष पूरा भएको, ३ आर्थिक वर्षमध्ये दुई आर्थिक वर्ष नाफा गरेको, सञ्चित नोक्सानी नरहेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरेको जस्ता सर्त पूरा गरेका कम्पनी ‘बी’ वर्गमा पर्छन् ।

तर, सूचीकृत भएको २ वर्ष पनि पूरा नभएका कम्पनी ‘जी’ समूहमा पर्छन् । अघिल्ला ३ समूहमा नपरेका सबै कम्पनी जेड समूहमा पर्छन् । जी समूहमा ७० र जेड समूहमा १३५ कम्पनी परेका छन् ।

चित्तबुझ्दो वर्गीकरणमा नपरेका संस्थाले कारणसहित ३५ दिनभित्र आवेदन दिन सक्ने नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्