• Menu

कसैलाई प्रोत्साहित गर्न या कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री

नेपाल प्रफिट

२०८१ वैशाख २१, शुक्रबार १७:२५

कसैलाई प्रोत्साहित गर्न या कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए ।

राजस्वका दर हेरफेर गर्दा सरोकारवालासँग परामर्श गरी उनीहरुका सुझावका आधारमा निर्णयमा पुग्ने उनको भनाइ छ । ‘करका दर घटाउने, बढाउने, विस्तार गर्ने वा छुट दिने जे गर्दा पनि विगतमा अर्थमन्त्री वा अर्थ मन्त्रालयलाई विवादमा पार्ने गरिएको छ,’ मन्त्री पुनले भने, ‘मन्त्रीको व्यक्तिगत इच्छा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन भन्ने हाम्रो प्रतिबद्धता हो ।’

उनले कुन वस्तुमा पहिला कति थियो र अहिले किन घटाइयो वा बढाइयो भन्ने तर्कपूर्ण कारण देखाएर करका देरमा हेरफेर गरिने स्पष्ट गरे ।

आफूले सरकारवालाहरुको सहभागितामा बजेट बनाउन लागेको भन्दै मन्त्री पुनले यसअघि पूर्वअर्थमन्त्रीहरु, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, पूर्वअर्थसचिव, पूर्वधार, स्वास्थ्य र शिक्षा क्षेत्रका विज्ञसँग छलफल गरी सुझाव संकलन गरिसकेको उल्लेख गरे ।

निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स र महिला उद्यमीसँग पनि छिट्टै छलफल गर्ने तय भएको जानकारी मन्त्री पुनले दिए । मुलुकको भू–अवस्थिति, प्राकृतिक स्रोत र जनशक्तिका आधारमा विकासका योजना बनाउने सरकारको नीति रहेको बताए ।

सरकारको नीति र नीतिगत निरन्तरताका कारण यर्पटन, ऊर्जा र सिमेन्ट उद्योगमा नेपालमा पछिल्लो डेढ दशकमा राम्रो प्रगति गरेको चर्चा गर्दै युवा वर्गलाई लक्षित गरी सूचना प्रविधि क्षेत्र, स्टार्टअप र नवप्रवर्तनलाई आगामी दिनमा प्राथमिकतामा राख्ने नीतिमा सरकार रहेको उनको भनाइ छ । एक अध्ययनले आगामी ५ वर्षमा सूचना प्रविधिका ५ खर्ब रुपैयाँबराबरका उत्पादन निर्यातको सम्भावना औंल्याएकाले उक्त क्षेत्रको सम्भावनालाई व्यक्त गर्ने भनाइ मन्त्री पुनको छ ।

पछिल्लो तीन दशकमा नेपालको औसत आर्थिक वृद्धि ४.२३ प्रतिशतमात्र रहेको उल्लेख गर्दै उनले त्यसको कारण सबै मिलेर खोज्नुपर्ने बताए । नेपाल विशाल जनसंख्या र ठूलो अर्थतन्त्र भएका भारत र चीनको बीचमा रहेकाले दुवै छिमेकीले गरेका विकासको प्रतिफल लिन सक्नुपर्नेमा जोड दिए ।

नेपालभित्रै र बाहिर रहेका युवामा सूचना प्रविधि क्षेत्रमा आकर्षण देखिएको भन्दै मन्त्री पुनले लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले ल्याएको अध्यादेशमा नेपालमा लगानी गरेर आर्जन गरेको धनबाहिर लैजान र बाहिर आर्जन गरेको नेपाल ल्याउन दिने व्यवस्था गरिएको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्