• Menu

खरबुजा खेतीबाट एकै सिजनमा ६ लाख आम्दानी

नेपाल प्रफिट

२०८१ वैशाख २१, शुक्रबार ०९:४७

खरबुजा खेतीबाट एकै सिजनमा ६ लाख आम्दानी

नवलपुर । नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन् ।

करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका उनले यसपटक खरबुजा खेती गरेका थिए । ‘पहिला तरकारी लगाउने गर्थेँ, बजार नपाएपछि खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ,’ उनले भने ।

वरपर भने कतै चैते धान त कतै मकै लगाइएको छ । हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि उनले करेलाखेती गरेका थिए । सरस्वती जातको खरबुजा लगाएका उनले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारी बिक्री गरेको बताए ।

चैत पहिलो सातादेखि उत्पादन सुरु भएको खरबुजा जेठसम्म खरबुजा फल्ने उनले बताए । ‘६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको थिएँ,’ उनले भने, ‘तर उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानी बढ्ने देखिएको छ ।’

खरबुजा बिक्रीमा कुनै समस्या नभएको महतोले बताए । स्थानीय बजारमै खपत हुँदै आएको छ । कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको उनले जानकारी दिए ।

‘यसलाई खासै औषधि हाल्नु परेन, प्रांगारिक मल नै धेरै प्रयोग गरियो, उत्पादन पनि सोचेभन्दा धेरै भयो, स्थानीय उत्पादन भनेपछि बारीबाटै किनेर लैजाने धेरै हुन्छन्,’ उनले भने । खरबुजा खेतीमा पनि खासै खर्च र मेहनत गर्नु नपरेको उनले सुनाए ।

रोजगारीको सिलसिलामा सिंगापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले अहिले आफ्नो फार्ममा ९ जनालाई रोजगारी दिएका छन् । उनी कावासोती नगरपालिका–१७ का सदस्य हुन् ।

व्यावसायिक कृषिमा ६ वर्षदेखि लागेका महतोले रोजगारीका लागि  विदेश नै जानुपर्छ भन्ने नभएको र कृषि कर्मबाटै कमाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्