• Menu

चौधरी समूहको वाइवाइ चाउचाउ उत्पादन उद्योग सीजी फुड्स पार्कमा आक्रमण

नेपाल प्रफिट

२०८१ वैशाख २२, शनिबार १०:३९

चौधरी समूहको वाइवाइ चाउचाउ उत्पादन उद्योग सीजी फुड्स पार्कमा आक्रमण

काठमाडौं । चौधरी ग्रुपको सीजी फुड्स पार्कमा आक्रमण भएको छ । भैंसेपाटीस्थित चौधरी ग्रुपको फुड्स पार्कमा शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तिमा तोडफोड गरेको चौधरी ग्रुपले जनाएको छ ।

‘फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै चौधरी ग्रुपका व्यवस्थापकप्रति अभद्र एवं असभ्य व्यवहार प्रदर्शन गरेका थिए,’ चौधरी ग्रुपका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारी प्रतिकारमा उत्रिएपछि आक्रमणकारी त्यहाँबाट पछि हटेको विज्ञप्तिमा उल्लेख छ । त्यसलगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसलाई गिरफ्तार गरेको जानकारी प्राप्त भएको चौधरी ग्रुपले बताएको छ ।

‘देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदाहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको हामी भत्र्सना गर्दछौँ, यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुर्‍याउन सक्नेतर्फ सचेत रहन हामी सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौँ ।’

चौधरी ग्रुपले घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सरकारसमक्ष अनुरोध गरेको छ । साथै, भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वातावरण कायम राख्न तत्काल पहल गर्न पनि हामी सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्