• Menu

तेस्रो लगानी सम्मेलन

अब नेपालमै बन्छन् विद्युतीय गाडी, कोशी एनके मोटर्ससँगको साझेदारीमा ३ अर्ब लगानी गर्दै चीनको सिमेन गोल्डेन

नेपाल प्रफिट

२०८१ वैशाख १८, मंगलबार ०९:४०

अब नेपालमै बन्छन् विद्युतीय गाडी, कोशी एनके मोटर्ससँगको साझेदारीमा ३ अर्ब लगानी गर्दै चीनको सिमेन गोल्डेन

काठमाडौं । अब नेपालमै विद्युतीय चार पाङ्ग्रे सवारी साधन बन्ने भएका छन् । चिनियाँ कम्पनी सिमेन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडले नेपालमा विद्युतीय सवारी साधन उत्पादनका लागि ३ अर्ब रूपैयाँ लगानी गर्ने सम्झौता गरेको हो ।

सिमेनले कम्पनीले तेस्रो लगानी सम्मेलनका अवसरमा नेपालको कोशी एनके मोटर्ससँग विद्युतीय गाडी उत्पादनका लागि सहकार्य गरेको हो । सहकार्यअनुसार वार्षिक ५ हजार थानभन्दा बढी गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरिएको छ ।

कम्पनीले सुरुमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चार पांग्रे सवारीसाधन उत्पादन गर्ने जनाएको छ । कोशी एनके मोटर्सका अध्यक्ष टिकाराम पुरीले यही वर्षबाट गाडी उत्पादन गर्ने गरी तयारी अघि बढाइने बताए ।

‘हामीले पहिलोपटक मुलुकमै विद्युतीय गाडी उत्पादन गर्न लागेका हौं, त्यसका लागि प्रविधि तथा उपकरण सबै चिनियाँ हुनेछ, गाडी भने नेपाली ब्रान्डमै उत्पादन तथा बिक्री गरिनेछ,’ उनले भने ।

प्लान्टका लागि कम्पनीले विराटनगरको बूढीगंगामा १५ बिगाहा जग्गा लिइसकेको पनि उनले जानकारी गराए । पुरीका अनुसार कम्पनीले पहिलो चरणमा १४, १८ र १२ सिट क्षमताका कमर्सियल गाडी उत्पादन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्