• Menu

ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई राष्ट्र बैंकको सम्मान

नेपाल प्रफिट

२०८१ वैशाख १४, शुक्रबार २१:१३

ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई राष्ट्र बैंकको सम्मान

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई सम्मान गरेको छ । राष्ट्र बैंकले ६९औं वार्षिकोत्सवको अवसर पारेर बढी रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको हो ।

बैंकहरुमध्ये ग्लोबल आइएमईले २१.१ प्रतिशत, हिमालयनले २०.६ प्रतिशत र नेपाल एसबीआईले १९.१ प्रतिशत रेमिट्यान्स भित्र्याएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले धेरै रेमिट्यान्स भित्र्याउने रेमिट्यान्स कम्पनीलाई पनि सम्मान गरेको छ । राष्ट्र बैंकले रेमिट कम्पनीहरुमध्ये सबैभन्दा धेरै २७.५ प्रतिशत रेमिट्यान्स भित्र्याउने आइएमई रेमिट र १४.९ प्रतिशत रेमिट्यान्स भित्र्याउने सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई पनि सम्मान गरेको छ ।

विद्युतीय भुक्तानी सेवाप्रदायकमध्ये प्रोत्साहन स्वरूप खल्ती र ईसेवा सम्मानित भएका छन् । वार्षिकोत्सवका अवसरमा राष्ट्र बैंकले पूर्वगभर्नर दिपेन्द्रपुरूष ढकाललाई पनि सम्मान गरेको छ । ढकाल २०५७ भदौ १२ देखि चैत २७ सम्म केन्द्रीय बैंकका गभर्नर थिए ।

वार्षिकोत्वसकै अवसरमा कार्यकारी निर्देशक विश्रुत थापा तथा निर्देशकद्वय डा. डिल्लीराम पोखरेल र लक्ष्मीप्रसाद प्रसाईंले दीर्घसेवा पदक पाएका छन् । यस्तै सर्वोत्कृष्ट एक जना र चार जना उत्कृष्ट कर्मचारी पुरस्कृत भएका छन् ।

कुल एक हजार १४७ कर्मचारीमध्ये सर्वोत्कृष्ट निर्देशक किरण पण्डित र उत्कृष्टहरूमा सिद्धार्थनगर कार्यालयका सुबराती पठान, टक्सार महाशाखाका श्यामकुमार श्रेष्ठ, जनकपुर कार्यालयका प्रियंका ठाकुर र कानुन महाशाखाका सुमन आचार्य सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्