• Menu

दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौँका मालिक

रासस

२०८० चैत १३, मंगलबार १४:०२

दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौँका मालिक
तस्बिर एआई

चितवन । पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झरेका रामप्रसाद गजुरेल तीन दशकको संघर्षले करोडौँका मालिक भएका छन् । चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उनको संघर्षले आज सफलताको शिखर चुमेको हो ।

अहिले गजुरेलको पाइप उद्योग, पानी ट्यांकी उद्योग, सौराहामा होटल, नारायणगढको क्षेत्रपुरमा फिटनेस सेन्टर (जिम हाउस) लगायत थुप्रै ठाउँमा लगानी छ । यो सफलता त्यसै हात लागेको भने होइन ।

एक भाइ र तीन बहिनीसँगै परिवारको जिम्मेवारी उनको काँधमा थियो । निम्नवर्गीय किसान परिवारमा हुर्किएका गजुरेलको विद्यालयको पढाइ खर्च आफैँले तरकारी लगाएर नजिकैको सेनाको ब्यारेकका ठेकेदारलाई बेचेर जुट्थ्यो ।

२०४७ मा प्रवेशिका उत्तीर्णसँगै अध्ययन र उपार्जनका लागि उनी चितवन झरे । उनका साथी यहाँको नीलकमल प्लास्टिक उद्योगमा काम गर्थे । त्यही उद्योगमा उनले मासिक नौ सय पाउने गरी सहयोगीको जागिर पाए ।

चार महिना काम गर्दैगर्दा एक साँझ आफ्नो कामको पालो नपरेको बेला साथीले काम गरिरहेको हेर्ने क्रममा उनको हात मेसिनमा पुग्यो । दुईवटा औंला काटिए । यो उनको जीवनको निकै संघर्षको समय रह्यो ।

त्यसपछि उनी गाउँ फर्किए । केही महिनापछि फेरि चितवन झरे । साइकलमा प्लास्टिक बेचेको उनले देखे । त्यही उद्योगका सञ्चालकको प्लास्टिक पसल थियो ।

बिहान नारायणगढस्थित बालकुमारी क्याम्पस पढ्ने र दिउँसोमा साइकलमा पसल–पसलमा प्लास्टिक पुर्‍याएर बिक्री गर्ने काम उनले थाले । नवलपरासी र चितवनका सबै सहरी क्षेत्रमा उनी साइकलमै पुग्थे ।

बिदाको अघिल्लो दिन टाढा–टाढा पुगेर त्यहीँ रात बिताएर भोलिपल्ट फर्किन्थे । अठार वर्षको त्यो उमेरमा बिहानदेखि साँझ अबेरसम्म उनी साइकलमै खटिन्थे ।

२०४८ माघदेखि आफैंले काठमाडौँबाट प्लास्टिक ल्याएर बिक्री गर्न थाले । त्यतिबेला उनले दैनिक १२ हजारसम्मको प्लास्टिक बिक्री गर्थे । यससँगै उनको जीवनयापन केही सहज बन्दै गयो ।

२०४९ सालमा एक जना साथीसँग मिलेर नारायणगढको मेनरोडमा ३५ हजारमा चितवन प्लास्टिक ट्रेडर्स पसल किने । पसल किन्न मामाघरको हजुरबुबाले १० हजार दिएको उनी सम्झिन्छन् ।

त्यही रकम उनको जीवनको व्यावसायिक यात्राका लागि महत्वपूर्ण बन्यो । इमानदार भएकै कारण साहुहरुले उधारो पनि पत्याउन थाले ।

त्यतिबेला पनि उनले साइकलमा प्लास्टिक बिक्री गर्न छाडेका थिएनन् । २०५३ मा उनले पसललाई बढाउँदै थोक बनाए । त्यहीँबाट गोरखा, धादिङ, तनहुँ प्लास्टिकजन्य सामग्री जान थाल्यो । ‘मैले निरन्तर १५ वर्ष बिहान ६ देखि राति १० बजेसम्म साइकलमा प्लास्टिक बेचेको छु,’ उनले भने ।

थोक पसलमा कति पटक त रातको समयमा समेत सुत्न नपाएको उनी सम्झिन्छन् । राति अबेरसम्म सामान लोड गर्दै जाँदा बिहान ५ बजेको र त्यसपछि मुख धोएर निरन्तर काम गरेको उनको अनुभव छ ।

२०५४ मा विवाह गरेपछि उनलाई काममा साथ मिल्यो । २०५८ सालमा उनले १८ लाखमा लीलाचोकमा पुरानो घर किने । त्यही घरमा उनको पसल सुरु भयो । सुरुमा सँगै रहेका साझेदारलाई अर्को पसल खोलेर आफूले एक्लै व्यापार थाले ।

२०६५ सालमा भारतको दिल्लीमा प्लास्टिक एक्स्पोमा उनी पुगे । त्यहाँ देखेपछि उनले नेपाल फर्किएर प्लास्टिकको पाइप उद्योग सुरु गरे । अर्को वर्षदेखि उनले चितवन पोलीपाइप उद्योग सुरु गरे । उद्योगमा पाइपसँगै प्लास्टिकका झोलालगायत सामग्री पनि उत्पादन हुन्छ ।

उनले भरतपुर महानगरपालिका–४ मा दुई वर्षअघि नै ९ कट्ठा जग्गा किनेका थिए । त्यही जग्गामा उद्योग सुरु भयो । त्यसपछि २०७० सालमा आकाश प्लास्टिक उद्योग खोले भने २०७४ सालमा प्लास्टिकका ट्यांक उत्पादन गर्ने उद्योग सुरु भयो ।

पुरानो उद्योगनजिकै १५ कट्ठा जमिन लिएर उनले यो उद्योग सुरु गरेका हुन् । चितवन राइनो ट्यांकीका रुपमा उनको उत्पादन बजारमा छ ।

दुई वर्षपछि २०७६ भदौमा सौराहामा रोयल टाइगर लग्जरी रिसोर्ट उनले सुरु गरे । यसैगरी, भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा राइनो फिटनेस हव यही वर्षको मंसिरबाट सञ्चालनमा छ ।

यसबीचमै उनले जिल्लामा चलेको सञ्जु इलेक्ट्रोनिक पसल खरिद गरे । इलेक्ट्रोनिक्स, होटल र फिटनेस सेन्टर उनका २५ वर्षे छोरा आकाशले हेर्दै आएका छन् ।

उनीसँगै भाइ सुन्दर व्यावसायिक क्षेत्रमा छन् । परिवारले दिएको साथ उनको सफलताको अर्को पक्ष हो । उनले गरेको आम्दानी र बैंकको साझेदारीमा उद्योग र व्यवसाय फस्टाएको उनी बताउँछन् ।

व्यावसायिक सफलतासँगै उनी सामाजिक क्षेत्रमा क्रियाशील हुन थालेका छन् । २०७५ देखि २०७९ सम्म उनी प्लास्टिक व्यवसायी संघ चितवनको अध्यक्ष थिए भने उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति सदस्यसमेत भएर काम गरे ।

इमानदारीपूर्वक निरन्तरको संघर्षले नै आफूलाई सफलता मिलेको उनको भनाइ छ । ‘कामलाई सानो–ठूलो नभनी निरन्तर त्यसैमा लाग्यो भने एक दिन सफलता मिल्ने,’ उनी भन्छन्, ‘मेरैजस्तै संघर्ष र मेहनत गर्न सके युवा विदेश पलायन हुनु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्