• Menu

माछापुच्छ्रे बैंकको सीईओमा दोहोरिए सन्तोष कोइराला, नयाँ वर्षसँगै सम्हाले दोस्रो कार्यकाल

नेपाल प्रफिट

२०८१ वैशाख २, आइतबार १०:१२

माछापुच्छ्रे बैंकको सीईओमा दोहोरिए सन्तोष कोइराला, नयाँ वर्षसँगै सम्हाले दोस्रो कार्यकाल

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा सन्तोष कोइरालाले दोस्रो ४ वर्षे कार्यकालको यात्रा सुरु गरेका छन् । कोइरालाले २०८१ वैशाख १ देखि दोस्रो कार्यकाल सुरु गरेका हुन् ।

पुस ५ गते बसेको सञ्चालक समिति बैठकले उनलाई दोस्रो कार्यकालका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको थियो । बैंकिङ क्षेत्रमा अढाई दशकभन्दा लामो समयको अनुभव हासिल गरेका कोइराला २०७७ वैशाख १ देखि बैंकको व्यवस्थापकीय नेतृत्व गर्दै आएका छन् ।

नेपाल बैंकर्स संघको उपाध्यक्ष रहेको कोइराला छोटो समयमै बैंकिङ करियरमा उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् । उनले सीईओको पहिलो कार्यकाल सुरु गर्दा मुलुक विश्वव्यापी कोभिड १९ महामारीको चपेटामा फस्दै थियो ।

२०७६ चैत २ देखि कायम मुकायम सीईओमा पदोन्नति भएका कोइरालालाई चैत १० गते बसेको बैंकको सञ्चालक समिति बैठकले नयाँ वर्षदेखि लागू हुने गरी सीईओ नियुक्ति गरेको थियो । चैत ११ देखि मुलुकमा लकडाउन सुरु भयो ।

त्यसयताका दिन झनै सहज भएनन् । ‘मैले सीईओको जिम्मेवारी सम्हाल्दै गर्दा लकडाउनले मुलुक ठप्प थियो, अत्यन्तै प्रतिकूल अवस्था थियो,’ उनले भने, ‘त्यस्तो खराब समय त पार लगाइयो, अब त राम्रो होला भने अपेक्षा छ ।’ माछापुच्छ्रे बैंकमा उनले करिअरका महत्वपूर्ण ११ वर्ष बिताइसकेका छन् ।

उनको दोस्रो कार्यकाल सुरु हुँदा पनि देशको आर्थिक अवस्था भने सहज छैन । बैंकहरु लगानी गर्न पैसा लिएर बसेका छन् तर कर्जाको माग करिब-करिब ठप्प छ । आर्थिक गतिविधि निराशाजनक छ ।

कोइरालाले सन् २००० मार्चदेखि तत्कालीन बैंक अफ काठमाण्डूबाट जुनियर असिस्टेन्टका रुपमा बैंकिङ करियर थालेका हुन् । त्यसपछि उनले तत्कालीन सानिमा विकास बैंकमा काम गरे । उनले त्यहाँ १३ वर्ष मेहनत गरे । उनले जागिर खाएको ११ वर्षपछि सानिमा बैंक वाणिज्य बैंकमा स्तरोन्नति भएको थियो ।

सानिमा बैंकमा उनी बढुवा हुँदै म्यानेजरसम्म पुगेका थिए । त्यसपछि उनलाई सिनियर म्यानेजरका रुपमा माछापुच्छ्रे बैंकबाट अफर आयो । माछापुच्छ्रे बैंकमा प्रवेश गरेको ७ वर्ष र पूरा करिअरको २१ वर्षमै उनी व्यवस्थापकीय नेतृत्वमा पुगेका थिए । अब उनी ४ वर्ष सीईओको जिम्मेवारीमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्