• Menu

टेस्ला मोडल-३ फेसलिफ्ट नेपाली बजारमा, मूल्य १ करोड ३५ लाख

नेपाल प्रफिट

२०८० फागुन १०, बिहीबार १५:४६

टेस्ला मोडल-३ फेसलिफ्ट नेपाली बजारमा, मूल्य १ करोड ३५ लाख

काठमाडौं । नेपाली बजारमा टेस्ला मोडल-३ फेसलिफ्ट सार्वजनिक भएको छ । अरेट इन्टरनेसलले बिहीबार एक कार्यक्रम गरी  नयाँ कार सार्वजनिक गरेको हो । कम्पनीले १ करोड ३५ लाख रुपैयाँ मूल्य निर्धारण गरेर कार बिक्री सुरु गरेको छ ।

फेसलिफ्ट मोडलमा गियर बटमसमेत नभएको टेस्ला मोडल-३ अन्तर्राष्ट्रिय बजारमा पनि केही अगाडि मात्रै आएको हो । लग्जरी फिचर भएको यो कार अन्तर्राष्ट्रिय बजारमा निकै रुचाइएको मोडलमा परेको छ ।

अरेट इन्टरनेसलका प्रमुख कार्यकारी अधिकृत विनोद श्रेष्ठले टेस्ला मोडल ३ विश्व बजारमा सर्वाधिक बिक्री हुनेमध्येको एक मोडल भएको बताए । ‘त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको फेसलिफ्ट मोडलले कम बजेटमा लग्जरी कार चढ्न चाहने ग्राहकको चाहना पूरा गर्नेमा हामी विश्वस्त छौं,’ सार्वजनिक कार्यक्रममा उनले भने ।

उनका अनुसार रियर ह्विल ड्राइभ अप्सनमा उपलब्ध मोडल थ्री हाइल्यान्डमा १९८ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ । २२५ किलोमिटर प्रतिघन्टाको उच्च गतिमा दौडिन सक्ने फेसलिफ्टले जम्मा ५.८ सेकेन्डमा शून्यबाट १ सय किलोमिटर प्रतिघन्टाको गति भेट्टाउने जनाइएको छ । कारको पिक टर्क भने ३४० एनएम छ ।

टेस्ला मोडल-३ मा ५८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ भने ग्राउन्ड क्लियरेन्स १३९ देखि १८० एमएमसम्म छ । यसले १७० किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ । यो कारलाई ११ किलोवाट क्षमताको एसी चार्जरले चार्ज गर्न सकिन्छ ।

कालो, सेतो र काठको कलरबाट सजिएको टेस्ला मोडल-३ को भित्री भागमा स्लिम डिजाइनमा बनेको ड्यासबोर्ड राखिएको छ । ड्यासबोर्डमा रहेको १५.४ इन्चको इन्फर्मेसन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सकिने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्