काठमाडौं । एनसेलले आगामी पुस २ गतेदेखि आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ। कम्पनीले बाँकी रहेका २ हजार १३७ थ्रीजी साइटसमेत एक महिनाभित्र बन्द गर्ने प्रक्रिया अघि बढाएको छ।
एनसेलका अनुसार कम्पनीका कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा बन्द भइसकेका छन्। बाँकी ६८ प्रतिशत साइट पनि चरणबद्ध रूपमा बन्द गरिनेछन्।
कम्पनीले थ्रीजी सेवा बन्द गर्न चार चरणको योजना बनाएको छ। पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका साइट बन्द गरिनेछन्। दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइट बन्द हुनेछन्।
त्यस्तै, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी स्थान तथा चितवनमा थ्रीजी सेवा बन्द गरिनेछ। अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका बाँकी साइट बन्द गरिने कम्पनीले जनाएको छ।
सन् २०१८ मा सुरु भएको एनसेलको थ्रीजी सेवा बन्द भएपछि ग्राहकले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमार्फत गुणस्तरीय भ्वाइस कलको सुविधा पाउनेछन्। यस प्रविधिबाट स्पष्ट आवाजमा कुराकानी गर्न, छिटो कल कनेक्ट गर्न र एकै समयमा भ्वाइस कल तथा फोरजी इन्टरनेट प्रयोग गर्न सकिनेछ।
भोल्टे सेवा प्रयोग गर्न ग्राहकसँग फोरजी सिम र उक्त सेवा सपोर्ट गर्ने मोबाइल फोन हुनुपर्नेछ।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले पुरानो प्रविधिको सट्टा आधुनिक र प्रभावकारी प्रविधि विस्तार गर्न तथा सञ्चालन र मर्मतसम्भार खर्च घटाउन थ्रीजी सेवा बन्द गर्ने निर्णय गरिएको बताइन्।
उनका अनुसार थ्रीजी सेवा बन्द भएपछि कम्पनीले फोरजी नेटवर्कलाई थप सुदृढ बनाउनुका साथै भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक तयारी गर्न सक्नेछ। थ्रीजीमा प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी नेटवर्कको क्षमता र कनेक्टिभिटी सुधार गर्न पुनः प्रयोग गरिनेछ।
कम्पनीले थ्रीजी सेवा बन्द भए पनि ग्राहक आधारभूत दूरसञ्चार सेवाबाट वञ्चित नहुने जनाएको छ। फोरजीमा अपग्रेड नभएका ग्राहकले टुजी नेटवर्कमार्फत भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।
एनसेलका अनुसार हाल कम्पनीको फोरजी नेटवर्क नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पुगिसकेको छ। तर, कम्पनीका कुल सक्रिय ग्राहकको करिब पाँच प्रतिशतले अझै फोरजी सिम प्रयोग गरेका छैनन्।
थ्रीजी सेवा बन्द हुँदा ग्राहकलाई पर्न सक्ने असुविधा कम गर्न एनसेलले पुरानो सिम निःशुल्क फोरजी सिममा परिवर्तन गर्ने सुविधा उपलब्ध गराएको छ। ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्री केन्द्रमा गएर आफ्नो सिम अपग्रेड गर्न सक्नेछन्।
फोरजी सिम लिने ग्राहकले सात दिनको समयावधिसहित दुई जीबी डेटा पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।