काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदलाई नेपालको हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा केन्द्रित हुन निर्देशन दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाह र चीन भ्रमणमा जान लागेका रास्वपाका सांसदबीच भ्रमणका विषयमा छलफल भएको हो।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपालले चीनबाट लिन सक्ने लाभका क्षेत्रमा काम गर्न सुझाव दिएको बताए।
उनका अनुसार प्रधानमन्त्रीले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा चीनबाट नेपालले लिन सक्ने लाभ पहिचान गर्न निर्देशन दिएका छन्।
‘प्रधानमन्त्रीज्यूसँग छलफल भएको छ। उहाँले भ्रमणका क्रममा चीनबाट नेपालले लिन सक्ने लाभका विषयमा काम गर्न निर्देशन दिनुभएको छ। चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लाभ लिन सक्छ। भ्रमण घुमघाममा मात्रै सीमित नराखी नेपालको हितलाई प्राथमिकता दिएर काम गर्नुस् भन्नुभएको छ,’ बुर्लाकोटीले भने।
रास्वपाका संसदीय दलका सदस्य तथा पार्टी नेताहरू यही कात्तिक २९ गते १० दिने चीन भ्रमणमा जाँदैछन्।