काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ४ जनालाई नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्यायपरिषद्को सिफारिसमा राष्ट्रपतिले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका अनुसार नियुक्त हुनेमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
नवनियुक्त न्यायाधीशमध्ये डा. बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए। त्यसैगरी सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए।