• Menu

सडक दुर्घटना न्यूनीकरणका लागि ‘स्थानीय सरकारका लागि सडक सुरक्षा पुस्तिका’ सार्वजनिक

नेपाल प्रफिट

२०८३ कात्तिक १३, शुक्रबार १४:०१

सडक दुर्घटना न्यूनीकरणका लागि ‘स्थानीय सरकारका लागि सडक सुरक्षा पुस्तिका’ सार्वजनिक

काठमाडौं । नेपालमा बढ्दो सडक दुर्घटना, चोटपटक तथा मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले तयार पारिएको ‘स्थानीय सरकारका लागि सडक सुरक्षा पुस्तिका’ काठमाडौंमा सार्वजनिक गरिएको छ।

स्थानीय तहका जनप्रतिनिधि तथा अधिकारीहरूलाई लक्षित गरी तयार पारिएको पुस्तिकाले सडक दुर्घटना न्यूनीकरणका लागि प्रमाणमा आधारित रणनीति, व्यावहारिक योजना निर्माणका उपाय तथा कार्यान्वयनयोग्य मार्गदर्शन समेटेको छ। यसले स्थानीय सरकारलाई दुर्घटनाको जोखिम भएका क्षेत्र पहिचान गर्न, दुर्घटनाका कारण विश्लेषण गर्न तथा समुदायको सहभागितामा प्रभावकारी सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल इन्जुरी रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेजको नेतृत्वमा बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड (यूडब्ल्यूई) ब्रिस्टल र इम्पेरियल कलेज लन्डनको साझेदारी तथा सेफ एन्ड सस्टेनेबल ट्राभल नेपाल (एसएसटीएन) को सहकार्यमा सञ्चालित ‘सेफट्रिप नेपाल’ अनुसन्धान परियोजनाअन्तर्गत पुस्तिका तयार पारिएको हो। परियोजनालाई बेलायतको नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर रिसर्च (NIHR150089) को आर्थिक सहयोग प्राप्त छ।

बागमती प्रदेशका ८ स्थानीय तह बनेपा, बेलकोटगढी, कालिका, पनौती र रत्ननगर नगरपालिका तथा बकैया, भीमफेदी र गल्छी गाउँपालिकाका सामुदायिक सडक सुरक्षा मञ्चहरूसँगको सहकार्यमा पुस्तिका सहनिर्माण गरिएको हो।

पुस्तिकाले स्थानीय तहलाई दुर्घटना बढी हुने स्थान पहिचान, जोखिमका कारण विश्लेषण, समुदायसँग सहकार्य, सडक सुरक्षा कार्यक्रमलाई स्थानीय योजनामा समावेश, बजेट विनियोजन तथा कार्यक्रमको प्रगति अनुगमन गर्न मार्गदर्शन गर्नेछ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले पुस्तिकाको प्रशंसा गर्दै स्थानीय सरकारहरूले सडक सुरक्षा व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्ने बताए । उनले पुस्तिका देशभरका स्थानीय तहले अपनाउन सके समुदायको सहभागितामा सडक दुर्घटनाबाट हुने अकाल मृत्यु न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले यातायात व्यवस्था ऐन र सार्वजनिक सडक ऐन परिमार्जनको प्रक्रियामा रहेको तथा नयाँ सडक सुरक्षा ऐनसमेत संसद्मा दर्ता भइसकेको जानकारी दिए । तीनवटै ऐनमा नीतिगत स्पष्टता कायम गरी कार्यान्वयनमा सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

यूडब्ल्यूई ब्रिस्टलकी प्राध्यापक तथा सेफट्रिप नेपाल अध्ययनकी बेलायत निर्देशक जुली मिटनले सन्देशमार्फत सडक सुरक्षाका लागि स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारको सक्रियता आवश्यक रहेको बताइन् स्थानीय अधिकारीहरूलाई समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने व्यावहारिक मार्गदर्शन उपलब्ध गराउन पाएकोमा उनले खुसी व्यक्त गरिन् ।

परियोजनाका समुदाय सहभागिता तथा संलग्नता (CEI) प्रमुख डा. पुष्पराज पन्तले परियोजनामा सहयोग गर्ने स्थानीय जनप्रतिनिधि, कर्मचारी, सामुदायिक सडक सुरक्षा मञ्चका सदस्य तथा परियोजना टोलीप्रति आभार व्यक्त गरे। उनले एसएसटीएनका सहकर्मी सुभाष ढुंगेल, सामुदायिक सडक सुरक्षा परिचालक तथा विभिन्न सरोकारवालाको योगदानको प्रशंसा गरे।

कार्यक्रममा सामुदायिक सडक सुरक्षा मञ्चका प्रतिनिधिहरूले स्थानीय तहमा भएका सडक सुरक्षा प्रयास र अनुभवसमेत प्रस्तुत गरेका थिए।

बेलकोटगढी नगरपालिकाकी मञ्च सदस्य सुप्रिया नेपालले परियोजनामा निरन्तर सहभागिता र सहकार्यले आफ्नो आत्मविश्वास तथा योगदान गर्ने क्षमता बढाएको अनुभव सुनाइन् ।

त्यस्तै, रत्ननगर नगरपालिकाका मञ्च सदस्य बसन्त रानाले स्थानीय क्लब, नगरपालिका र उद्योग वाणिज्य संघसँगको सहकार्यमा सडक सुरक्षा सचेतना, विद्यालय यातायात सुरक्षा तथा जोखिमयुक्त मोडहरूमा कन्भेक्स ऐना जडानजस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

कालिका नगरपालिकाका मञ्च अध्यक्ष रवि अधिकारीले दुर्घटनाको सम्भावना भएका क्षेत्र पहिचान गरी बजारका चोकहरूमा ट्राफिक संकेत तथा ड्रम राखिएको बताए। उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा सबै वडामा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्न तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

भीमफेदी गाउँपालिकाका मञ्च सदस्य रामहरि ठकुरीले सडक दुर्घटनाबाट हुने मृत्यु रोक्न स्थानीय सडक सुरक्षा कार्यविधि स्वीकृत गर्नुपर्नेमा जोड दिए। त्यस्तै, गल्छी गाउँपालिकाकी मञ्च सचिव राधिका अधिकारीले परियोजनाबाट प्राप्त ज्ञान र सहकार्यलाई भविष्यमा सडक सुरक्षा कार्यक्रम निर्माण तथा कार्यान्वयनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रमको सभापतित्व काठमाडौं मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागका प्रमुख प्राध्यापक अभिनव वैद्यले गरेका थिए ।

स्थानीय सरकारको नेतृत्व, समुदायको सक्रिय सहभागिता र प्रमाणमा आधारित योजनामार्फत सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सार्वजनिक गरिएको यो पुस्तिका नेपालमा स्थानीय तहबाटै सडक सुरक्षा सुधार गर्ने महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा रहने अपेक्षा गरिएको छ।