• Menu

‘आईसीटी अवार्ड २०२६’ : चार विधामा ५० स्टार्टअप तथा इनोभेसन सेमिफाइनलका लागि छनोट

नेपाल प्रफिट

२०८३ कात्तिक १३, शुक्रबार १३:५०

‘आईसीटी अवार्ड २०२६’ : चार विधामा ५० स्टार्टअप तथा इनोभेसन सेमिफाइनलका लागि छनोट

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित ‘आईसीटी अवार्ड २०२६’ को ११औँ संस्करणअन्तर्गत चार विधाका ५० स्टार्टअप तथा इनोभेसन सेमिफाइनलका लागि छनोट भएका छन्।

आयोजकका अनुसार स्टार्टअप, सोसल इनोभेसन, प्रडक्ट र राइजिङ स्टार इनोभेसन विधामा प्राप्त २३० भन्दा बढी आवेदनमध्ये दुई चरणको मूल्यांकनपछि उत्कृष्ट प्रतिस्पर्धी छनोट गरी सार्वजनिक गरिएको हो।

सन् २०२६ को आईसीटी अवार्डका लागि गत साउनदेखि मनोनयन खुला गरिएको थियो। यस वर्ष विभिन्न १६ विधामा ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका छन्। यसैक्रममा ट्र्याक ए अन्तर्गत स्टार्टअप तथा इनोभेसनसँग सम्बन्धित चार विधाका सेमिफाइनलिस्ट सार्वजनिक गरिएको हो।

१४ जना विज्ञ जुरी सदस्य र १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति रहेको अवार्डमा स्टार्टअप आईसीटी अवार्डतर्फ १०, सोसल इनोभेसनतर्फ १०, प्रडक्टतर्फ १५ र राइजिङ स्टार इनोभेसनतर्फ १५ गरी कुल ५० प्रतिस्पर्धी छनोट भएका छन्।

छनोट भएका स्टार्टअप तथा इनोभेसन

स्टार्टअप आईसीटी अवार्डका लागि आशिर्वाद केयर प्रालि., एक्सेलेरेटेड कम्प्युटिङ प्रालि, फ्युलिङ एम्बिसन्स प्रालि, गरुडएक्स मल्टिपर्पस प्रालि, गोमाइगो बुकिङ्स प्रालि, लुमिनो टेक्नोलोजी प्रालि, रेफेरो सोलुसन्स प्रालि, समएक्स इन्क प्रालि, योद्धा ल्याब प्रालि. र जेलियन्ट कम्पनी प्रालि. छनोट भएका छन्।

त्यस्तै, सोसल इनोभेसन विधामा बारबर्दिया एग्रो-मेटेरोलोजिकल मेसेज एन्ड एडभाइजरी सिस्टम, खेल्दै सिक्दै कक्षा, कोपिला भ्याली स्कुल मेकर स्पेस, निदान ईएचआर, रिजेन नेपाल, राइड टु अर्न, सेतु, अपस्केलिङ स्मार्ट पब्लिक ट्वाइलेट्स फर बेटर स्यानिटेसन, वायुदृष्टि–वायुसेना र वेस्ट म्यानेजमेन्ट सिस्टम छनोट भएका छन्।

प्रडक्ट आईसीटी अवार्डतर्फ आशिर्वाद केयर, बाइटआउट, सेन्ट्रोनिक्स-सेन्ट्रल मोनिटरिङ सिस्टम, दन्त-मेड, एक्साना, आईएमएस डिजिटल लेन्डिङ, आईपी सेवा, काठमाडौं साइटसिइङ, लेख्नुस्, नेपाल एचआरएम, वान बीएनपीएल, अप्ट ईआरपी, प्यागोडा ल्याब्स डीएमएस, पीडीएफ मर्जली र वायुदृष्टि एटमोस उत्कृष्ट १५ मा परेका छन्।

त्यसैगरी, राइजिङ स्टार इनोभेसन विधामा दृष्टिल्याब्स, इभोएमओई, हरित पाठशाला, किड्डीगार्ड, लाइफ लाइन, प्रेडिक्शन अफ प्रेडिक्शन, साक्षी, सेतु, स्काइट्रूप-पी१, सुरक्षा ३६०, स्वर-साथी, सिन्याप्टिक, द कैरोस इन्जिन, ट्राफिक आई र जेलियन्ट सप छनोट भएका छन्।

उत्कृष्ट पाँचका लागि स्टार्टअप फेस्ट र ग्रान्ड जुरी

सेमिफाइनलमा छनोट भएका ५० वटै टिम अब स्टार्टअप एन्ड आइडिया फेस्ट तथा ग्रान्ड जुरी सेसनमा सहभागी हुनेछन्। आगामी मङ्सिरको पहिलो साता आयोजना हुने स्टार्टअप फेस्टमा सहभागी टिमले आफ्ना स्टार्टअप, उत्पादन तथा नवीनतम प्रविधिको प्रदर्शन गर्नेछन्।

ग्रान्ड जुरी सेसनमा प्रतिस्पर्धीहरूले विज्ञ जुरी सदस्यहरूसमक्ष आफ्ना परियोजना तथा व्यावसायिक योजनाबारे प्रस्तुति दिनेछन्। साथै, स्पिड डेटिङ सेसनमार्फत आफ्ना विचार र सम्भावनाबारे छलफल गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।

यी प्रक्रियापछि प्रत्येक विधाबाट उत्कृष्ट पाँच प्रतिस्पर्धी छनोट गरी ग्रान्ड फिनालेमा सहभागी गराइनेछ। उत्कृष्ट पाँच छनोट भएपछि सर्वोत्कृष्ट टिम तथा इनोभेसन पहिचान गर्न फिल्ड भिजिट र पब्लिक भोटिङसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

व्यक्तिगत तथा संस्थागत विधाको छनोट प्रक्रिया जारी

आईसीटी अवार्ड २०२६ अन्तर्गत व्यक्तिगत अवार्ड विधा (ट्र्याक बी) मा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड र प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड (वुमन) समावेश छन्।

त्यस्तै, संस्थागत अवार्ड विधा (ट्र्याक सी) अन्तर्गत डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड, डिजिटल सर्भिसेस (इमर्जिङ सेक्टर) आईसीटी अवार्ड र डिजिटल सर्भिसेस (इन्टरप्राइज सेक्टर) आईसीटी अवार्ड रहेका छन्। यी विधाहरूको छनोट प्रक्रिया पनि जारी रहेको आयोजकले जनाएको छ।

यस वर्ष दक्षिण एसियाली मुलुकहरूलाई लक्षित गर्दै साउथ एसिया स्टार्टअप अवार्ड २०२६ र साउथ एसिया एआई इनोभेसन आईसीटी अवार्ड २०२६ समेत सञ्चालन भइरहेका छन्। यी विधाहरूमा नेपालका विज्ञसँगै विभिन्न देशका अन्तर्राष्ट्रिय जुरी सदस्यहरू पनि छनोट प्रक्रियामा सहभागी छन्।

लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा सञ्चालन हुने आईसीटी अवार्ड सन् २०१६ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रका नवीनतम उपलब्धि, उद्यमशीलता र डिजिटल रूपान्तरणलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गरिँदै आएको हो।

आयोजकका अनुसार यस वर्षको छनोट प्रक्रिया विभिन्न २५ चरणमा सञ्चालन हुनेछ, जसमा जुरी समितिका बैठक, मूल्याङ्कन तथा प्रस्तुति सत्रहरू समावेश छन्। अवार्डको छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन विज्ञ तथा अन्तर्राष्ट्रिय जुरी सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको आयोजकको दाबी छ।

आईसीटी अवार्ड २०२६ सम्बन्धी विस्तृत जानकारी तथा छनोट प्रक्रियाको अपडेटका लागि www.ictaward.org मा हेर्न सकिनेछ।