काठमाडौं । आम नागरिकले न्यायाधीशहरुका विषयमा गम्भीर टिप्पणी गर्दै आएका बेला सर्वोच्च अदालतका न्यायाधीशहरु नै विचौलियाहरुसँग प्रत्यक्ष्य जोडिएका तथ्यहरु फेला पर्न थालेका छन् । विभिन्न अभियोगमा पक्राउ परी कारागारमा रहेका व्यक्तिसँगको सम्पर्क सूत्र बन्ने विचौलियाहरुसँग न्यायाधीशहरुले चलखेल गर्ने गरेको पाइएको हो ।
नयाँ पत्रिकाले प्राप्त गरेको ह्वाट्एप म्यासेजअनुसार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र दीपक भट्टको मुद्दामा चलखेल गरिरहेका इनम सापकोटाबीच सन्देहपूर्ण सम्बन्ध देखिएको हो । व्यापारीहरु र नेताहरुबीच विचौलिया बनेका भट्ट सम्पत्ति शुद्धीकरण मुद्दामा हाल कारागारमा छन् ।
भट्ट र भट्टको समूहका सदस्यहरुको विचाराधीन मुद्दामा चलखेल गरेको आरोपमा विचौलिया सापकोटा पनि पक्राउ परेका छन् । उनै सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीश फुयालको ‘सन्देहपूर्ण सम्बन्ध’ देखिएको हो ।
ह्वाट्सएप म्यासेजमा फुयालले भट्ट समूहका व्यक्तिलाई आफूहरूले धरौटीमा छाडेको उल्लेख गरेका छन् । उनले सापकोटालाई होटलमा भेटेको पनि संवादबाट खुलेको छ ।
सुरुमा विचौलिया सापकोटाले ह्वाट्सएपमा फोन गरेको फुयालले थाहा पाउँदैनन् । त्यसपछि ‘मिस्डकल’को जवाफमा फुयाल लेख्छ- मैले यो ढिलो देखेँ । उनलाई (रोहित गुप्ता) छाड्नुपर्ने आधारै रहेछ । हामीले उनलाई दुई करोड धरौटी मागेका छौँ । गोल्छालाई (शेखर गोल्छा) एक करोड मागिएको रहेछ ।’
गुप्तालाई धरौटीमा छाड्ने आदेश राखिएको सर्वोच्चको वेबसाइटको लिंक पनि उनले सापकोटालाई म्यासेज गरेको नयाँ पत्रिकाले जनाएको छ । विशेष अदालतको निर्णय उल्ट्याउँदै फुयाल र अर्का न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले भदौ १७ मा गुप्तालाई धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यही दिन फुयाल र विचौलिया सापकोटाबीच यो संवाद भएको बुझिएको छ । विशेषले साउन २८ मा गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । यही आदेश बदरको माग गर्दै उनी सर्वोच्च पुगेका थिए ।
त्यही संवादका क्रममा फुयालले विचौलिया सापकोटालाई होटेलमा भेट्न पनि प्रस्ताव गरेका हुन् ।
फुयालले लेखेका छन्- भोलि साँझ ७ बजे हिमालय होटलमा भेटौँ ।’
जवाफमा सापकोटाले लेखेका छन्- स्योर सर, चिन्ता नगर्नुस् म भर्खर ल्यान्ड भएको छु ।
भेटमा भट्ट समूहको मुद्दाका विषयमा कुराकानी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । न्यायाधीश फुयाल र विचौलिया सापकोटाबीच कुराकानी भएको केही दिनमै भट्ट पनि बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएका थिए । दिपक भट्टका बुवा चतुर्भुजले असोज ७ मा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
भोलिपल्ट असोज ८ मा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । त्यसपछि सो मुद्दा सुनुवाइका लागि पेस भएको छैन । भट्टविरुद्ध धितोपत्रसम्बन्धी कसुर, बिमासम्बन्धी कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा संलग्न भएको अभियोगमा विभिन्न अदालतमा मुद्दा विचाराधीन छन् ।
सरकारले उनीविरुद्ध २७ अर्बभन्दा धेरै सम्पत्ति कसुरजन्य कार्यबाट आर्जन गरेको अभियोगसहित बिगो दाबी गरेको छ । हिमालयन रि-इन्स्योरेन्स भट्ट र उनको समूहले घोटाला गरेको प्रमुख कम्पनीमध्येको एक हो, जसमा गुप्ता पनि पूर्वसञ्चालक थिए ।
भट्ट समूहकै दबाबमा नेपाल रि–इन्स्योरेन्स कम्पनीका तत्कालीन अध्यक्ष रविन्द्र घिमिरेले राजीनामा दिनुपरेको थियो । नेपाल रिलाई धराशयी बनाउने गरी कोरोना बिमाको १३ अर्ब ५० करोड रुपैयाँ तिराउने योजना भट्ट समूहले बनाएको थियो । नेपाल रिलाई कमजोर बनाउने, हिमालयन रिलाई बलियो बनाउने र चलखेल गर्ने योजना उक्त गिरोहले बनाएको स्रोतले जनाएको छ ।
प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल रिलाई पत्र नै लेखेर कोरोना बिमाको पैसा तिर्न दबाब दिएका थिए । तर, त्यसको दायित्व आफ्नो नरहेको जवाफसहितको पत्र पठाइदिएपछि घिमिरे चर्को दबाबमा परेका थिए । त्यसपछि भट्टकै योजनाअनुसार उनलाई तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राजीनामा दिन बाध्य पारेको थियो । घिमिरे पोखरा विश्वविद्यालयका सहप्राध्यापक हुन् ।