• Menu

टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकमा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो

नेपाल प्रफिट

२०८३ कात्तिक १३, शुक्रबार १३:४२

टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकमा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने २० लाख ३६ हजार १९१ वटा भिडियो हटाइएको छ।

टिकटकले सार्वजनिक गरेको रिपोर्टअनुसार हटाइएका भिडियो नेपालमा उक्त अवधिमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत हुन्। हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएको कम्पनीले जनाएको छ। त्यस्तै, ९२.३ प्रतिशत भिडियो उल्लंघन पहिचान भएको २४ घण्टाभित्र हटाइएको छ।

टिकटकका अनुसार थप समीक्षा तथा पुनरावलोकनपछि हटाइएका ३३ हजार ५०३ वटा भिडियो पुनर्स्थापना गरिएका छन्।

विश्वव्यापी तथ्यांक अनुसार सन् २०२६ को दोस्रो त्रैमासिकमा टिकटकले १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ। यो अवधिमा प्लेटफर्ममा अपलोड भएका कुल भिडियोको करिब ०.५ प्रतिशत हो। हटाइएका भिडियोमध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा भिडियो स्वचालित पहिचान प्रविधि (Automated Detection Technology) को प्रयोगबाट हटाइएको रिपोर्टमा उल्लेख छ।

विश्वव्यापी रूपमा हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरिएको थियो भने ९२.७ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको थियो। थप समीक्षापछि ६२ लाख ६२ हजार ३८३ वटा भिडियो पुनर्स्थापना गरिएका छन्।

भिडियो सामग्रीसँगै टिकटकले प्रयोगकर्ता खाताको निगरानी र व्यवस्थापनलाई समेत प्राथमिकता दिएको जनाएको छ। रिपोर्टअनुसार उक्त अवधिमा विश्वव्यापी रूपमा १४ करोड ६८ लाख ७ हजार ४०० वटा नक्कली खाता हटाइएको छ। त्यस्तै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ता हुन सक्ने आशङ्का गरिएका २ करोड ६८ लाख ४० हजार ७६७ वटा खाता पनि हटाइएको छ।

यसैगरी, कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै २७ करोड ८३ लाख ८४ हजार ४६३ वटा कमेन्ट हटाइएको कम्पनीले जनाएको छ।

टिकटकले आफ्नो लाइभ स्ट्रिमिङ फिचरमा हुने गतिविधिको निगरानी र नियम कार्यान्वयनलाई पनि कडाइ गरेको छ। रिपोर्टअनुसार प्रकाशित लाइभ सामग्रीमध्ये २.४ प्रतिशत निलम्बन गरिएको छ। नियम उल्लंघनका कारण ७ करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसन तथा २ करोड ६७ लाख ८१ हजार १३५ जना लाइभ क्रिएटरमाथि चेतावनी दिने वा आम्दानी गर्ने सुविधा हटाउनेलगायतका कारबाही गरिएको छ।

थप समीक्षा प्रक्रियापछि २३ लाख ९८ हजार ८४६ वटा लाइभ सेसन पुनर्स्थापना गरिएको रिपोर्टमा उल्लेख छ।

टिकटकका अनुसार यी तथ्यांकले प्लेटफर्ममा नियम उल्लंघन गर्ने सामग्री पहिचान तथा हटाउन स्वचालित निगरानी प्रणालीको प्रभावकारिता बढ्दै गएको देखाउँछन्। प्रयोगकर्ता, क्रिएटर तथा समग्र डिजिटल समुदायका लागि सुरक्षित र सकारात्मक वातावरण निर्माण गर्न यस्ता प्रविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने कम्पनीले जनाएको छ।

टिकटकले आफ्नो प्लेटफर्ममा पारदर्शिता कायम राख्ने उद्देश्यले नियमित रूपमा कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै आएको छ। सन् २०२६ को दोस्रो त्रैमासिकको विस्तृत रिपोर्ट तथा प्लेटफर्मका नीति, नियम र सुरक्षा उपकरणबारे जानकारी टिकटकको अंग्रेजी भाषामा उपलब्ध ट्रान्सपरेन्सी सेन्टरमार्फत प्राप्त गर्न सकिनेछ।

टिकटकबारे

टिकटक मोबाइलमा छोटो भिडियो सामग्रीका लागि विश्वव्यापी प्लेटफर्म हो। सिर्जनशीलतालाई प्रोत्साहन गर्नु र मानिसहरूमा खुसी बाँड्नु यसको उद्देश्य रहेको कम्पनीले जनाएको छ। टिकटकका मुख्यालय अमेरिकाको लस एन्जलस र सिङ्गापुरमा रहेका छन्। यसका अतिरिक्त न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सोल र टोकियोलगायत सहरमा कार्यालयहरू रहेका छन्।