काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अब केवल क्रिकेट प्रतियोगिता मात्र होइन, नेपाली क्रिकेटको व्यावसायिक सम्भावना परीक्षण गर्ने ठूलो मञ्चका रूपमा स्थापित हुँदै गएको छ । तीन संस्करणको यात्रामा प्रतियोगिताले दर्शक, खेलाडी र प्रायोजकको ध्यान तानेको मात्र छैन, प्रसारण अधिकार, फ्रेन्चाइज आम्दानी, पुरस्कार राशि र प्रविधिमा समेत उल्लेख्य आर्थिक विस्तार गरेको छ । प्रतियोगिता सुरु नहुँदै प्रसारण अधिकारबाट मात्र ३२ करोड रुपैयाँभन्दा बढी आम्दानी सुनिश्चित हुनुले एनपीएलको बजार मूल्य तीव्र रूपमा बढिरहेको संकेत गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का लागि एनपीएल आम्दानीको बलियो स्रोत बनेको छ । पहिलो संस्करणबाट २७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको क्यानले दोस्रो संस्करणमा ४७ करोड ३६ लाख रुपैयाँ कमायो । तेस्रो संस्करणमा प्रतियोगिताको बल पहिलो पटक ब्याटमा ठोक्किनुअघि नै प्रसारण अधिकारबाट ठूलो रकम जुटिसकेको छ । यसले नेपाली क्रिकेटमा लगानी, दर्शकको पहुँच र व्यावसायिक अधिकारको मूल्य बढ्दै गएको देखाउँछ ।
प्रसारण अधिकारमा उछाल, एनपीएलको बजार मूल्यमा वृद्धि
एनपीएलको व्यावसायिक यात्रामा सबैभन्दा उल्लेख्य परिवर्तन प्रसारण अधिकारको मूल्यमा देखिएको छ । पहिलो संस्करणमा युट्युब र नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार एक्सन स्पोर्ट्सले ७५ लाख रुपैयाँमा खरिद गरेको थियो । त्यतिबेला प्रतियोगिताको प्रसारण युट्युब र टेलिभिजनमा निःशुल्क उपलब्ध गराइएको थियो । तर, त्यसपछिका संस्करणमा एनपीएलको प्रसारण दर्शकसम्म पुग्ने माध्यममा सीमित रहेन, आम्दानीको प्रमुख आधारसमेत बन्यो ।
दोस्रो संस्करणमा क्यानले पहिलो पटक ओटीटी प्लेटफर्ममार्फत पनि प्रतियोगिताको व्यावसायिक अधिकार बिक्री गर्न सफल भयो । डिसहोमले ओटीटी अधिकार लिँदा नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार कान्तिपुर टेलिभिजनले ३ करोड रुपैयाँमा खरिद गरेको थियो ।
तेस्रो संस्करणमा आइपुग्दा टेलिभिजन प्रसारण अधिकारको मूल्य करबाहेक १४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । हिमालय टेलिभिजनअन्तर्गतको हिमालय स्पोर्ट्सले अघिल्लो संस्करणको तुलनामा करिब पाँच गुणा बढी रकम तिरेर उक्त अधिकार खरिद गरेको हो ।
प्रसारण कम्पनीबीचको प्रतिस्पर्धाको परिणाम मात्र होइन, यो वृद्धि । एनपीएलले नेपाली क्रिकेट दर्शकलाई एउटै प्रतियोगितामार्फत ठूलो संख्यामा आकर्षित गर्न सक्ने सम्भावना देखाएको छ । दर्शकको ध्यान बढ्दा विज्ञापन, प्रायोजन, डिजिटल प्रसारण र अन्य व्यावसायिक साझेदारीको मूल्य पनि बढ्ने आधार तयार हुन्छ ।
पहिलो संस्करणदेखि भारतीय च्यानल स्टार स्पोर्ट्समार्फत भएको प्रसारणले प्रतियोगितालाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन सहयोग पुर्याएको थियो । नेपाली क्रिकेटको बजार घरेलु दर्शकमा सीमित नराखी अन्तर्राष्ट्रिय क्रिकेटको व्यावसायिक सञ्जालसँग जोड्ने प्रयासका रूपमा यसलाई लिन सकिन्छ ।
बलियो बन्दै प्रतियोगिताको आर्थिक आधार
एनपीएलको आर्थिक विस्तार क्यानको आम्दानीमा सीमित छैन । प्रतियोगितामा सहभागी फ्रेन्चाइज टोलीले प्राप्त गर्ने रकममा पनि उल्लेख्य वृद्धि भएको छ । पहिलो संस्करणमा आठ फ्रेन्चाइज टोलीले कुल ३ करोड १६ लाख रुपैयाँ पाएका थिए । दोस्रो संस्करणमा यो रकम बढेर १६ करोड १८ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
फ्रेन्चाइज टोलीको आम्दानी बढ्नुले प्रतियोगितामा निजी क्षेत्रको सहभागितालाई थप आकर्षक बनाएको स्पष्ट गरेको छ । टोलीले खेलाडी खरिद, विदेशी खेलाडीको पारिश्रमिक, व्यवस्थापन, मार्केटिङ र समर्थकसँगको सम्बन्ध विस्तारमा लगानी गर्ने आर्थिक आधार पाएका छन् ।
यद्यपि, टोलीको दीर्घकालीन व्यावसायिक सफलता प्रतियोगिताबाट प्राप्त रकममा मात्र निर्भर भने हुँदैन । प्रायोजन, टिकट बिक्री, व्यापारिक साझेदारी र टोलीको आफ्नै ब्रान्ड निर्माण पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
स्टार खेलाडीले बढाउँदै एनपीएलको व्यावसायिक आकर्षण
कुनै पनि फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको बजार मूल्य बढाउन खेलाडीको लोकप्रियता महत्त्वपूर्ण हुन्छ । चर्चित खेलाडी मैदानमा उत्रिँदा दर्शकको रुचि, प्रसारणको आकर्षण, प्रायोजकको चासो र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान बढ्न सक्छ । एनपीएलको तेस्रो संस्करणमा देखिएको खेलाडीको आकर्षणले यही सम्भावनालाई उजागर गरेको छ ।
पहिलो संस्करणमा कर्णाली याक्सले भारतीय क्रिकेटर शिखर धवनलाई भित्र्याएको थियो । दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई टोलीमा समावेश गरेको थियो । तेस्रो संस्करणमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नरदेखि वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलसम्मका चर्चित खेलाडी मैदानमा उत्रिने हुँदा प्रतियोगिताको आकर्षण थप बढाएको छ ।
यसअघि एक सिजनमा अधिकतम चार टोलीले एक–एक जना सक्रिय टेस्ट खेलाडी ल्याउन पाउने व्यवस्था थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट अनुमति पाएपछि तेस्रो संस्करणमा यस्तो सीमा हटेको छ । यसले फ्रेन्चाइज टोलीलाई उच्चस्तरका विदेशी खेलाडी अनुबन्ध गर्न थप अवसर दिएको छ ।
डीआरएस : खर्चिलो प्रविधिमा लगानी गर्ने अवस्थामा एनपीएल
एनपीएलको तेस्रो संस्करणको अर्को महत्त्वपूर्ण पक्ष डिसिजन रिभ्यू सिस्टम (डीआरएस) को प्रयोग हो । नेपाली भूमिमा पहिलो पटक प्रयोग हुन लागेको यस प्रविधिले प्रतियोगिताको सञ्चालनलाई अन्तर्राष्ट्रिय क्रिकेटको अभ्याससँग थप नजिक लैजानेछ ।
डीआरएसअन्तर्गत एलबीडब्ल्युको निर्णय पुनरावलोकन गर्न थ्रीडी बल ट्र्याकिङ, रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको समीक्षा गर्न सकिनेछ । साथै, ब्याटमा बल लागेको पत्ता लगाउने प्रविधि, वाइडको उचाइसम्बन्धी विश्लेषण, छक्काको दूरी र उचाइको मापन तथा अन्य बलिङ एनालिटिक्सले खेलको प्राविधिक पक्षलाई थप समृद्ध बनाउने अपेक्षा गरिएको छ ।
अघिल्लो संस्करणमा क्यानका सचिव पारस खड्काले डीआरएस निकै महँगो प्रविधि भएको बताएका थिए । तेस्रो संस्करणमा यसको प्रयोग गर्न सक्ने अवस्था बन्नुले प्रतियोगिताको आर्थिक क्षमता र व्यावसायिक महत्त्व बढेको संकेत गरेको छ ।
पुरस्कार राशिमा पनि वृद्धि
एनपीएलको तेस्रो संस्करणमा पुरस्कार राशिसमेत वृद्धि गरिएको छ । गत वर्ष विजेताले एक करोड १० लाख रुपैयाँ पाएकोमा यस पटक एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ ।
पुरस्कार राशि बढ्नु प्रतियोगिताको व्यावसायिक विस्तारसँगै प्रतिस्पर्धात्मक आकर्षण बढाउने उपाय पनि हो । यसले टोलीलाई राम्रो खेलाडी र प्रशिक्षकमा लगानी गर्न प्रोत्साहन गर्छ ।
बजार विस्तारको नयाँ अवसर
एनपीएलको पहिलो संस्करणमा दर्शकले मैदानमा सीमित सुविधाबीच खेल हेरेका थिए । दोस्रो संस्करणमा प्यारापिट र फ्लडलाइटसहित खेल हेर्ने अवसर विस्तार भयो । तेस्रो संस्करणमा डीआरएस र विश्वस्तरीय खेलाडीको उपस्थितिले दर्शकको अनुभवलाई थप उन्नत बनाउने अपेक्षा गरिएको छ ।
दर्शकको अनुभव सुधार हुनु आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण छ । राम्रो पूर्वाधार, गुणस्तरीय प्रसारण र आकर्षक खेलले दर्शकलाई मैदानसम्म तान्न सक्छ । यसबाट टिकट बिक्री, प्रायोजन, विज्ञापन र प्रतियोगितासँग जोडिएका अन्य व्यापारिक गतिविधि विस्तार हुने सम्भावना रहन्छ ।
आईसीसीको मान्यता
तेस्रो संस्करणका लागि आईसीसीबाट मान्यता प्राप्त हुनु एनपीएलको अर्को महत्त्वपूर्ण उपलब्धि हो । टी–२० को आधिकारिक मान्यतासँगै प्रतियोगितामा बनेका रेकर्डहरू आधिकारिक क्रिकेट रेकर्डका रूपमा समावेश हुनेछन् । यसले एनपीएललाई घरेलु मनोरञ्जनको प्रतियोगिताभन्दा बाहिर निकालेर विश्व क्रिकेटको आधिकारिक संरचनासँग जोडेको छ ।
यसको सीधा प्रभाव खेलाडीको व्यक्तिगत उपलब्धि, प्रतियोगिताको प्रतिष्ठा र अन्तर्राष्ट्रिय पहिचानमा पर्नेछ । नेपाली खेलाडीले आधिकारिक मान्यता प्राप्त प्रतियोगितामा विदेशी स्टारसँग खेल्ने अवसर पाउनु उनीहरूको अनुभव र क्षमताको विकासका लागि पनि उपयोगी हुनेछ ।
बढ्दो आम्दानीलाई दिगो व्यवसायमा बदल्ने चुनौती
एनपीएलको तीन संस्करणले नेपाली क्रिकेटमा व्यावसायिक विस्तारको बलियो सम्भावना देखाएको छ । क्यानको आम्दानीमा भएको वृद्धि, प्रसारण अधिकारको मूल्यमा आएको उछाल, फ्रेन्चाइज टोलीले पाउने रकमको विस्तार, स्टार खेलाडीको आकर्षण र आधुनिक प्रविधिको प्रयोगले प्रतियोगिताको आर्थिक हैसियत बदलिँदै गएको संकेत गर्छ ।
अब प्रसारण अधिकारबाट प्राप्त रकम कति दिगो हुन्छ, फ्रेन्चाइज टोलीले गरेको लगानीबाट कस्तो प्रतिफल पाउँछन्, दर्शकको संख्या र टिकट बिक्री कति बढ्छ तथा प्रायोजन र विज्ञापनको बजार कति विस्तार हुन्छ भन्ने विषयले एनपीएलको वास्तविक आर्थिक सफलता निर्धारण गर्नेछ ।
७५ लाख रुपैयाँको प्रसारण सम्झौताबाट सुरु भएको यात्रा तेस्रो संस्करणमा प्रसारण अधिकारबाटै ३२ करोड रुपैयाँभन्दा बढी आम्दानीको चरणमा पुगेको छ । यो परिवर्तनले एनपीएलको बढ्दो बजार मूल्य देखाउँछ । अब चुनौती भनेको यो आर्थिक उछाललाई क्षणिक उपलब्धिमा सीमित नराखी नेपाली क्रिकेटको दीर्घकालीन विकास, लगानीको स्थायित्व र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतासँग जोड्नु हो । त्यसको एउटा आधार एकेडेमीसहितका क्रिकेट रंगशाला सातै प्रदेश निर्माण गरेर तयार गर्न सकिन्छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal