काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिम न्यूनीकरणका कार्यमा सहयोग गर्न यातायात व्यवसायी, मजदुर र सर्वसाधारणलाई अपिल गरेको छ।
महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो।
बाढीको जोखिम अझै कायम रहन सक्ने भएकाले नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न महासंघले अनुरोध गरेको छ।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा विपद्को यस घडीमा सबैले आ-आफ्नो स्थानबाट उद्धार तथा जोखिम न्यूनीकरणका कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।
त्यसैगरी, बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन यातायात व्यवसायी, यातायात मजदुर र सर्वसाधारणलाई आवश्यक सहयोग गर्न महासंघले आह्वान गरेको छ।
महासंघले विपद्का बेला सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै प्रभावित नागरिकको सुरक्षा तथा उद्धार कार्यमा सहयोग पुर्याउन आग्रह गरेको छ।