काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले भदौ १० को बाढीपहिरोबाट प्रभावित नुवाकोट सुनचाँदी व्यवसायी संघको कार्यालय तथा सदस्य व्यवसायीका लागि दोस्रो चरणको राहत तथा पुनस्स्थापना सामग्री प्रदान गरेको छ ।
नुवाकोट जिल्ला संघको कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कम्प्युटर, फोटोकपी मेसिन, दराज, टेबल दुई थान, टिएफ टेबल, सोफा दुई थान, प्लास्टिक कुर्सी १२ थान, घुम्ने कुर्सी दुई थानलगायत स्टेसनरीका विभिन्न सामग्री सहयोगस्वरूप प्रदान गरिएको हो ।
काठमाडौं सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष उपेन्द्रकाजी शाक्यले नुवाकोट सुनचाँदी व्यवसायी संघका अध्यक्ष भीम बज्राचार्यलाई उक्त सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका छन् । संघले बाढीपहिरोबाट प्रभावित सदस्य व्यवसायीलाई घरायसी प्रयोजनका लागि भाँडाकुँडा र लत्ताकपडासमेत वितरण गरेको छ ।
कार्यक्रममा काठमाडौं सुनचाँदी व्यवसायी संघका सचिव लेखरत्न शाक्यले व्यक्तिगत रूपमा समेत पीडित व्यवसायीलाई सहयोग स्वरूप ११ हजार १११ रुपैयाँको चेक नुवाकोट सुनचाँदी व्यवसायी संघका अध्यक्ष बज्राचार्यलाई हस्तान्तरण गरे ।
कार्यक्रममा उपाध्यक्ष शाक्यले विपद्को समयमा गरिएको सहयोगले जिल्ला संघलाई आवश्यक भौतिक पूर्वाधार जुटाउन सहयोग पुग्नुका साथै व्यवसायीहरूबीच सुखदुःखमा साथ दिने भावना र प्रेरणा बढाउने बताए ।
बाढीपहिरोबाट प्रभावित व्यवसायीलाई आवश्यक सहयोग उपलब्ध गराउनु व्यवसायी संघको दायित्व भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
राहत तथा सामग्री वितरण कार्यक्रममा काठमाडौं सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष, कोषाध्यक्ष, सचिवलगायत कार्यसमिति सदस्य तथा कार्यालय कर्मचारीहरूको पनि उपस्थिति थियो ।