काठमाडौं । चाडपर्वको मौका छोपेर हवाई भाडा बढाएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीसँग छलफल गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्यानले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर हवाई भाडाका विषयमा छलफल गरेको हो।
छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने तथा सो भाडादरबारे सम्बन्धित वायुसेवा कम्पनीको बिक्री वितरण प्रणालीमा सार्वजनिक गर्ने सहमति भएको छ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने र सोही मौका छोपेर हवाई भाडा बढाउने गरिएको गुनासो आएपछि क्यानले वायुसेवा कम्पनीसँग छलफल गरेको जनाएको छ।
२०७३ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतमसम्मको भाडादर निर्धारण गरिएको थियो। उक्त स्वीकृत भाडादरको सीमाभित्र रहेर यात्रुलाई सहुलियत हुने गरी टिकट बिक्री गर्ने सहमति भएको हो।
क्यानले चाडपर्वका समयमा यात्रुको सहजता र हवाई सेवामा पारदर्शिता कायम गर्न वायुसेवा कम्पनीलाई स्वीकृत भाडादरअनुसार सेवा सञ्चालन गर्न आग्रह गरेको छ।