• Menu

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन (पूरा भिडियोसहित)

नेपाल प्रफिट

२०८३ असोज ९, शुक्रबार ०६:२९


काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गरेका छन् । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवासत्रमा उनले सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री शाहले नेपालमा आएको बाढी र जलवायु न्यायको विषयलाई जोडदार रुपमा उठाएका छन ।

उनले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालले ०.१ प्रतिशतभन्दा पनि कम योगदान गरेको तर जलवायु परिवर्तनका कारण असाध्यै ठूलो मूल्य चुकाइरहेको बताए । नेपालका लागि जलवायु परिवर्तन मानवीय घटना मात्र नभई विकासको आपत्काल भएको भन्दै विश्वको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री शाहले ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

उनले अब जलवायु परिवर्तनको विषय संयुक्त राष्ट्र संघको दस्तावेजामा मात्रै सीमित हुन नहुने बताए । उनले भने, “जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन। हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ ।”

प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा कायम असमानतामाथि पनि प्रश्न उठाएका छन् । उनले विश्वले हतियार आपूर्तिका लागि तीव्र र प्रभावकारी संयन्त्र बनाएको तर किसानका लागि मल र इन्धन आपूर्तिका लागि केही काम नगरेको बताए । नेपालका किसानले पनि बजार मूल्य तिरेर मल र इन्धन पाउन नसक्ने अवस्था रहेको बताए ।

उनले अहिले विश्वमा युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली निर्माण गरिएको बताए ।