• Menu

भोटेकोशी बाढीपीडितलाई २ लाख ८४ हजार नगद राहत वितरण

नेपाल प्रफिट

२०८३ मंसिर ४, शुक्रबार १२:३९

भोटेकोशी बाढीपीडितलाई २ लाख ८४ हजार नगद राहत वितरण

रसुवा । भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका-३ का १४२ तामाङ परिवारलाई दुई लाख ८४ नगद राहत वितरण गरिएको हो ।

बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।

अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा बसोबास गर्दै आएका नेपाली तामाङ समुदायका सदस्यहरूबाट संकलित रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।  ‘अमेरिका-नेपाल बाढीपीडित राहत अनुदान सहयोग’ अभियानका संयोजक दावा तामाङको पहलमा जम्मा गरिएको  उक्त रकम काठमाडौंको नागार्जुन नगरपालिका-२ का जनप्रतिनिधिहरूको समूहले रसुवामै पुगेर वितरण गरेको हो ।

अभियानअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका-३ का लिङलिङ, बृदिम, खाम्जिङ, शेर्पागाउँ, वाङ्गल र बेन्जयाङका १४२ परिवारलाई जनही दुई हजारका दरले कूल दुई लाख ८४ हजार नगद प्रदान गरिएको वडाध्यक्ष मिङ्मार छिरिङ तामाङले जानकारी दिए ।

बाढीका कारण आफन्त गुमाएर गहिरो शोकमा परेका तथा दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत नसक्ने अवस्थामा पुगेका पीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले सहयोग उपलब्ध गराइएको सहयोगी संस्थाले जनाएको छ । रासस