• Menu

स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

नेपाल प्रफिट

२०८३ मंसिर ४, शुक्रबार १५:३४

स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा फरक-फरक समयमा गर्ने भन्ने विषयमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले स्थानीय र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न सकिने सम्भावनाका साथै आर्थिक एवं व्यावहारिक पक्षबारे पनि छलफल भएको जानकारी दिए । यी विषयमा सहमतिमा निर्णय हुनुपर्नेमा शीर्ष नेताहरूले जोड दिएको उनले बताए ।

उच्चस्तरीय राजनीतिक संयन्त्रमा निर्वाचनसम्बन्धी विषयमा छलफल गरी सहमति खोजिने, आवश्यकतानुसार  संविधान वा कानुन संशोधनका लागि राजनीतिक संवाद गर्ने, विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने, प्रविधिमैत्री निर्वाचन प्रणाली अपनाउने र बदर मत घटाउने विषयमा पनि छलफल भएको नेता खरेलले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलसँग आयोगले संवाद गर्नु सकारात्मक भएको बताए । निर्वाचन खर्च र व्यावहारिकताका हिसाबले स्थानीय र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने अभ्यास रहे पनि दुवै तहका जनप्रतिनिधिको कार्यकाल फरक समयमा सकिने भएकाले विशेष परिस्थिति उत्पन्न भएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै तहको निर्वाचन एकैपटक गर्दा पाँच वर्षे कार्यकाल पूरा गर्नुपर्नेलगायत संवैधानिक विषयमा आगामी बैठकमा  छलफल गरी निष्कर्षमा पुग्ने समझदारी भएको बताए । विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आफूहरू सकारात्मक रहेको कथन थियो ।

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्तहरूले निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र हालसम्मको तयारीबारे जानकारी दिएका थिए । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०८४ साल जेठ ५ गते र प्रदेशसभा सदस्यको कार्यकाल २०८४ साल चैत ५ गते  पूरा हुँदैछ । कानुनी व्यवस्थानुसार दुवै तहको निर्वाचन कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि गर्नुपर्ने छ । रासस