• Menu

एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’

नेपाल प्रफिट

२०८३ मंसिर ४, शुक्रबार १४:३८

एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरूले असन्तुष्टि जनाएका छन् ।

शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुला गर्ने भनिए पनि निर्धारित समयभन्दा केही मिनेटअघि नै टिकटिङ प्लेटफर्ममा फाइनल खेलको टिकट सकिएको सूचना देखिएको थियो ।

प्रयोगकर्ताहरूका अनुसार दिउँसो १२ बजेर ५७ मिनेटमै टिकटिङ प्लेटफर्ममा प्रवेश गर्दा ‘सोल्ड आउट’ देखिएको थियो । जबकि प्लेटफर्ममा टिकट बिक्री सुरु हुने समय दिउँसो १ बजे उल्लेख गरिएको थियो ।

निर्धारित समयमा टिकट खरिद गर्न खोज्दा पनि सफल नभएको दर्शकहरूको गुनासो छ । कतिपयले दिउँसो १ बजेर १ मिनेटमा प्रयास गर्दा समेत टिकट खरिद गर्न नपाएको बताएका छन् ।

टिकट बिक्री सुरु हुनुअघि नै टिकट सकिएको सूचना देखिनु र बिक्री खुला भएको भनिएको समयमा प्रयास गर्दा पनि टिकट नपाइनुले टिकट वितरण प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको छ ।

यस घटनापछि सामाजिक सञ्जालमा दर्शकहरूले टिकटिङ प्रणालीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले टिकट बिक्री प्रक्रियालाई व्यवस्थित, सहज र पारदर्शी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।