• Menu

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी सुरु

नेपाल प्रफिट

२०८३ मंसिर ४, शुक्रबार १३:२७

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी सुरु

काठमाडौं। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खाद्य तथा कृषि उपजको आयात प्रतिस्थापन गर्न कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ को उद्घाटन समारोहमा बोल्दै उनीहरूले आधुनिक प्रविधिको प्रयोग विस्तार, स्वदेशमै कृषि उपकरण उत्पादन तथा यान्त्रिकीकरणका लागि आवश्यक नीतिगत र वित्तीय सहजीकरण गर्न सरकारसँग आग्रह गरेका हुन्।

मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा कृषि क्षेत्रका विभिन्न प्रविधि, उपकरण तथा सेवाहरू प्रदर्शनमा राखिएका छन्।

नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माले २०७० सालमा मिनी टिलरबाट सुरु भएको प्रदर्शनी पछिल्लो समय थप व्यवस्थित र आधुनिक बन्दै गएको बताए। यस वर्षको प्रदर्शनीमा बीउबिजन, पशुपालन, मल, दाना तथा मौरीपालनलगायत कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी र संस्थाको सहभागिता रहेको उनले जानकारी दिए।

कृषि यान्त्रिकीकरणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै शर्माले कृषि मेसिनरी आयातमा भन्सार छुट, किसानलाई उपकरण खरिदका लागि सहज ऋण तथा मर्मतसम्भारसम्बन्धी तालिम र सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उनले प्रदर्शनीस्थलको भौतिक अवस्था सुधार गर्नसमेत सरकारको ध्यानाकर्षण गराए।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले स्वदेशी कृषि उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्न सकिने बताए । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषिसम्बन्धी वस्तुको आयात करिब चार खर्ब ४१ अर्ब रुपैयाँ पुगेको उल्लेख गर्दै उनले उक्त तथ्यांकमा खाद्यान्नसँगै कच्चा खाद्य तेल, पशु आहार र प्रशोधनका लागि आयात गरिएका सामग्रीसमेत समावेश हुन सक्ने स्पष्ट पारे।

किसानलाई भाषण र आश्वासनभन्दा उत्पादन बढाउने प्रविधि तथा साधन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री साहले परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउन कृषि यान्त्रिकीकरण महत्वपूर्ण आधार भएको बताए।

उनले कृषि मेसिनरी व्यवसायीलाई उपकरण आयात र बिक्रीमा मात्र सीमित नभई स्वदेशमै कृषि औजार, मेसिन तथा पार्टपुर्जा उत्पादन गर्ने उद्योग विकासमा लाग्न आग्रह गरे। नेपाली भूगोल र किसानको आर्थिक क्षमताअनुसारका साना, किफायती तथा सहजै मर्मत गर्न सकिने उपकरण उत्पादनलाई सरकारले प्रोत्साहन गर्ने उनको भनाइ थियो।

मन्त्री साहले कृषि यान्त्रिकीकरणलाई कृषि र उद्योग जोड्ने महत्वपूर्ण आर्थिक क्षेत्रका रूपमा विकास गर्न आवश्यक नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। यस क्षेत्रमा आत्मनिर्भर बन्न निजी क्षेत्रले पनि अनुसन्धान, प्रविधि हस्तान्तरण र नवप्रवर्तनमा लगानी बढाउनुपर्ने उनले बताए।

ग्लोबल आइएमई बैंकका कार्यकारी निर्देशक सुरेन्द्रराज रेग्मीले किसान र प्रविधिलाई एउटै मञ्चमा जोड्ने प्रदर्शनीको प्रशंसा गरे। नेपालको भौगोलिक अवस्था र खेती प्रणालीलाई ध्यानमा राखेर बैंकले कृषि क्षेत्रमा वित्तीय साझेदारको भूमिका निर्वाह गरिरहेको उनले बताए।

खाद्य तथा कृषि संगठन (एफएओ) का कार्यक्रम व्यवस्थापक दीपक तुलाधरले जलवायु परिवर्तन, श्रमिक अभाव र युवाको कृषि क्षेत्रप्रतिको घट्दो आकर्षणका कारण यान्त्रिकीकरणको आवश्यकता बढ्दै गएको बताए। तर, किसानको वास्तविक आवश्यकता र खेती प्रणालीअनुसार उपयुक्त प्रविधि छनोट गर्नुपर्नेमा उनले जोड दिए।

उनका अनुसार एफएओले उत्पादन, भण्डारण र प्रशोधनका क्षेत्रमा काम गरिरहेको छ। साना किसानले महँगा उपकरण खरिद गर्न नसक्ने भएकाले उनीहरूलाई पनि यान्त्रिकीकरणको सुविधा उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको उनले बताए।

बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधिर श्रेष्ठले कृषि उपकरणमा अनुदान वितरण गर्दा आवश्यकता र उपयोगितालाई प्राथमिकता दिनुपर्ने बताए। कतिपय स्थानमा अनुदानका कारण आवश्यकताभन्दा बढी उपकरण पुगेको र प्रयोगविहीन अवस्थामा थन्किएको उल्लेख गर्दै उनले अनुदान प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले कृषि यान्त्रिकीकरणमा अनुदानको अत्यधिक प्रयोगले उपकरणको गुणस्तर र महत्त्वमा असर पर्न सक्ने बताए। उनले कृषि उपकरणको गुणस्तरमा व्यवसायीले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

राष्ट्रिय योजना आयोगका सदस्य देवेन्द्र गौचनले कृषि यान्त्रिकीकरणलाई उत्पादन वृद्धि, लागत न्यूनीकरण र कृषि क्षेत्रको रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्ने बताए। यसका लागि नीतिगत स्पष्टता, लगानी र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

नेपाल कृषि अनुसन्धान परिषद्का प्रतिनिधिले पनि दिगो कृषि यान्त्रिकीकरणको प्रयोग विस्तार गरेर कृषि उत्पादन र उत्पादकत्व बढाउनुपर्ने धारणा राखे।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले गाउँगाउँसम्म कृषि यान्त्रिकीकरणको पहुँच विस्तार हुँदै गएको र यसले किसानलाई खेतीपाती गर्न सहज बनाएको बताए। सरकारले यस क्षेत्रमा लगानी गर्दै आएको उल्लेख गर्दै उनले कृषि यान्त्रिकीकरण नीति पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले उपकरण वितरणसँगै मर्मतसम्भार र सञ्चालनका लागि आवश्यक जनशक्ति तथा सेवा विस्तारमा पनि ध्यान दिनुपर्ने बताए।

नामियाकी उपाध्यक्ष सुनिता निमाफुकिले कृषि यान्त्रिकीकरणको विकासका लागि सरकार, व्यवसायी र किसानबीच सहकार्य आवश्यक रहेको बताइन्। कृषि उपकरणको पहुँच गाउँगाउँसम्म पुर्‍याउन, किसानलाई आधुनिक प्रविधिबारे जानकारी दिन तथा प्रयोग र मर्मतसम्भारसम्बन्धी सीप विकास गर्नुपर्ने उनको भनाइ थियो।

१०० भन्दा बढी प्रदर्शक, दुई हजार कृषि उपकरण

‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।

तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह र शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि राखिएका छन्।

कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी सञ्चालन गरिएको हो। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहेको छ।

प्रदर्शनीले किसान, कृषि उद्यमी तथा व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै आधुनिक उपकरणको प्रयोग विस्तार, उत्पादन लागत न्यूनीकरण र कृषि क्षेत्रलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।