• Menu

मंसिर ४ देखि काठमाडौंमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने

नेपाल प्रफिट

२०८३ असोज २१, बुधबार १३:४३

मंसिर ४ देखि काठमाडौंमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने

काठमाडौं । आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को तयारी तीव्र पारिएको छ ।

कृषि विभागअन्तर्गतको कृषि यान्त्रीकरण प्रवर्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)को संयुक्त आयोजनामा हुने प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहने भएको छ । यसका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र नामियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहेको प्रदर्शनीमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा रहनेछन् ।

‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ आयोजना हुने प्रदर्शनी नोभेम्बर २० देखि २२ अर्थात् मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने नामियाका सचिव श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

प्रदर्शनीको मुख्य प्रायोजकमा एसकेटी नेपाल प्रालि र प्लेटिनम प्रायोजकमा जी-सेभेन एग्रिकल्चर प्रालि रहने भएका छन् । आयोजकका अनुसार प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ भने दुई हजारभन्दा बढी कृषि यन्त्र तथा प्रविधिजन्य सामग्री प्रदर्शन गरिनेछ । करिब २०० वटा स्टल रहने प्रदर्शनीमा ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।

कृषि तथा पशुपन्छीपालन क्षेत्रको आधुनिकीकरण र रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । आधुनिक कृषि यन्त्र, प्रविधि तथा उपकरणबारे कृषकलाई जानकारी गराउँदै यान्त्रीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्य प्रदर्शनीको रहेको आयोजकले जनाएको छ ।

२०७१ सालमा स्थापना भएको नामियाले सरकारका विभिन्न निकायसँगको सहकार्यमा हालसम्म पाँचपटक राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एकपटक प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी र एकपटक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी आयोजना गरिसकेको छ ।

यसअघि २०७०सालमा चितवनको भरतपुरमा तत्कालीन कृषि इन्जिनियरिङ निर्देशनालयको अगुवाइमा पहिलो कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरिएको थियो । सोही पृष्ठभूमिमा यस वर्षको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी विगतका संस्करणभन्दा थप बृहत्, प्रविधिमैत्री र प्रभावकारी हुने नामियाले जनाएको छ