• Menu

प्रविधिले लिड गर्दैछ विश्व अर्थतन्त्र, नेपाल कसरी जोडिन सक्छ ?

डीआर आचार्य

२०८३ असोज २२, बिहीबार २०:४१


काठमाडौं । हिजो मैले ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सले सार्वजनिक गरेको विश्वका सबैभन्दा धनी मानिसहरूको सूचीबारे एउटा सूचनामूलक रिपोर्ट बनाएँ । रिपोर्टको शीर्षक थियो- ‘विश्वका शीर्ष ९ धनी सबै प्रविधितर्फका’ ।

सर्सर्ती हेर्दा त्यो रिपोर्ट अमेरिकी सम्पत्तिवालहरुको विवरण जस्तो थियो । तर, यथार्थमा त्यो रिपोर्टले विश्व अर्थतन्त्रको शक्ति परम्परागत उद्योगबाट कति तीव्र गतिमा प्रविधितर्फ सरिरहेको छ भन्ने संकेत गरेको थियो । आज म त्यही रिपोर्टमा टेकेर आगामी दिनमा विश्व अर्थतन्त्रलाई प्रविधिले कसरी लिड गर्दैछ र नेपालको स्थान कहाँ छ भन्ने दृष्टिकोण प्रस्तुत गर्दैछु ।

हिजोको विश्व अर्थतन्त्र र आजको परिवर्तन

केही वर्ष अघिसम्म विश्व अर्थतन्त्रको आधार तेल, ग्यास, खानी, बैंकिङ, उत्पादनमूलक उद्योग, खुद्रा व्यापार र घरजग्गा जस्ता क्षेत्र थिए । औद्योगिक क्रान्तिले कारखाना र उत्पादन क्षमतालाई आर्थिक शक्तिको केन्द्र बनाएको थियो । २०औँ शताब्दीमा तेल, बैंकिङ, अटोमोबाइल, रियल इस्टेट र ठूला औद्योगिक समूहले विश्व अर्थतन्त्रको नेतृत्व गरे ।

तर, इन्टरनेट क्रान्तिपछि आर्थिक मूल्य सिर्जना गर्ने तरिका नै बदलियो । गुगलले सूचना खोज्ने तरिका सिकायो । अमेजोनले व्यापारको ढाँचामा परिवर्तन ल्यायो । फेसबुकले सामाजिक सम्बन्ध र विज्ञापनको बजार नै बदलिदियो । माइक्रोसफ्टले कम्प्युटिङलाई व्यवसायको मेरुदण्डका रुपमा स्थापित गर्‍यो । त्यसपछि क्लाउड कम्प्युटिङ, स्मार्टफोन, सेमिकन्डक्टर हुँदै अहिले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईले आर्थिक मूल्य सिर्जनामा विशाल परिवर्तन ल्याएको छ ।

अहिले एउटा प्रविधि कम्पनीले विश्वका करोडौँ मानिसलाई सेवा दिन सक्छ । यसै कारणले प्रविधिलाई सबैभन्दा ठूलो आर्थिक शक्ति बनाउँदै लगेको छ । एआईले यो परिवर्तनलाई अझ तीव्र बनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२५ मा एआईसँग सम्बन्धित लगानीले मात्रै अमेरिकी आर्थिक वृद्धिमा ०.५ प्रतिशत बिन्दु योगदान गरेको थियो । सन् २०२६ मा विश्वभर एआईमा निजी क्षेत्रको लगानी २० खर्ब डलरभन्दा माथि पुग्न सक्ने अनुमान आईएमएफले गरेको छ ।

यसको अर्थ एआई एउटा सफ्टवेयर उद्योग मात्र होइन । एआईका लागि चिप चाहिन्छ । चिपका लागि सेमिकन्डक्टर कारखाना चाहिन्छ । डेटा सेन्टर चाहिन्छ । त्यसका लागि ठूलो मात्रामा विद्युत् चाहिन्छ । क्लाउड, साइबर सुरक्षा, कुलिङ सिस्टम, नेटवर्क, रोबोटिक्स र नयाँ सफ्टवेयर चाहिन्छ । यसरी एआई उद्योगले अर्थतन्त्रका कयौँ क्षेत्रलाई एकैपटक चलायमान बनाइरहेको छ ।

आईएमएफले अहिलेको विश्व आर्थिक वृद्धिमा प्रविधिको प्रभाव बढ्दै गएको र एआईसँग सम्बन्धित मागले प्रविधि मूल्य शृंखलामा जोडिएका देशलाई ठुलो फाइदा पुर्‍याइरहेको बताएको छ ।

अमेरिका : प्रविधि आर्थिक शक्तिको मुख्य आधार

अमेरिकाको आर्थिक शक्ति अब वाल स्ट्रिट, तेल वा परम्परागत उद्योगमा सीमित छैन । गुगल, माइक्रोसफ्ट, अमेजोन, मेटा, एनभिडिया, एप्पल, टेस्ला, ओपनएआईसँग जोडिएको इकोसिस्टम र सयौँ स्टार्टअपले अमेरिकालाई विश्वको डिजिटल अर्थतन्त्रको केन्द्रमा राखेका छन् ।

यसको एउटा तथ्य अहिलेको अर्बपति सूची पनि हो । ब्लुमबर्गको शीर्ष नौमध्ये सबै अमेरिकी नागरिक हुन् र सबैको सम्पत्ति प्रविधिसँग जोडिएको छ । अमेरिकाले सफ्टवेयर मात्र बेचिरहेको छैन । एआई मोडल, सेमिकन्डक्टर डिजाइन, क्लाउड कम्प्युटिङ, अपरेटिङ सिस्टम्स, सोसल प्ल्याटफर्म्स, डेटा इन्फ्रास्ट्रक्चर र भेन्चर क्यापिटलसम्मको मूल्य शृंखलामा प्रभाव राखेको छ ।

आईएमएफका अनुसार अमेरिकामा एआई र सूचना-प्रविधि लगानी अहिले आर्थिक गतिविधिको महत्वपूर्ण चालक बनेको छ । एआई र डिजिटल प्रविधिमा अमेरिकी लगानीको गति तीव्र छ । अमेरिकी ब्युरो अफ इकोनोमिक एनालिसिस (बीईए) को तथ्यांकअनुसार अमेरिकाले आईटीसम्बन्धी उपकरण तथा सफ्टवेयरमा सन् २०२६ को पहिलो त्रैमासमा ३२.८ प्रतिशतले लगानी बढाएको छ । जबकि, दोस्रो त्रैमासमा लगानी वृद्धिदर १०.७ प्रतिशतमात्र थियो ।

चीन : प्रविधिमा निर्भर होइन, प्रतिस्पर्धी बन्ने दौडमा

चीनको अवस्था अझ रोचक छ । विश्वको सबैभन्दा ठूलो उत्पादन केन्द्रमध्ये एक भएकाले स्मार्टफोन, इलेक्ट्रोनिक्स, सोलार, ब्याट्री, विद्युतीय सवारीदेखि औद्योगिक उपकरणसम्मका प्रविधिमा आधारित उत्पादनमा चीनको ठूलो भूमिका छ ।

तर, उन्नत सेमिकन्डक्टर र केही अत्याधुनिक प्रविधिमा अझै बाह्य निर्भरता चीनको चुनौती हो ।

त्यसैले चीन अहिले एआई, आफ्नै चिप, डेटा सेन्टर, क्लाउड र घरेलु प्रविधि कम्पनी निर्माणमा ठूलो लगानी गरिरहेको छ । अझ भनौँ, चीनले एआई डेटा सेन्टर क्षमता तीव्र गतिमा बढाइरहेको छ । यससँगै अमेरिका र चीनबीचको प्रतिस्पर्धा व्यापार वा सैन्य शक्तिको प्रतिस्पर्धाभन्दा बाहिर निस्किसकेको छ ।

युरोप : बलियो उद्योग तर डिजिटल दौडमा चुनौती

जर्मनीजस्ता युरोपेली अर्थतन्त्रको शक्ति लामो समयदेखि अटोमोबाइल, मेसिनरी, रसायन, औद्योगिक उपकरण र उच्चस्तरीय उत्पादनमा रहँदै आएको छ । अहिले भने युरोपले एआई, सेमिकन्डक्टर, क्लाउड, डेटा इन्फ्रास्ट्रक्चर र डिजिटल सोभरेन्टी बलियो बनाउने प्रयास गरिरहेको छ ।

फ्रान्सको पेरिसमा मुख्यालय रहेको अन्तरसरकारी अन्तर्राष्ट्रिय संस्था अर्गनाइजेसन फर इकोनोमिक को-अपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) का अनुसार सेमिकन्डक्टरको विश्वव्यापी मूल्य शृंखला अत्यन्त जटिल छ । अमेरिकाले चिप डिजाइन गर्ने सफ्टवेयर (ईडीए टुल्स) र सेमिकन्डक्टर इन्टेलेक्चुअल प्रोपर्टी क्षेत्रमा ठूलो हिस्सा ओगटेको छ भने जापान, अमेरिका, जर्मनी, नेदरल्यान्ड्स, चीनलगायतका देश उत्पादन शृंखलाका फरक काममा दक्षता राख्छन् । यसको अर्थ अब कुनै एउटा देशले मात्रै सम्पूर्ण प्रविधि उत्पादन गर्न सक्दैन ।

जापान : पुरानो औद्योगिक शक्ति, नयाँ टेक्नोलोजीको आधार

जापानले अटोमोबाइल, रोबोटिक्स, इलेक्ट्रोनिक्स, मेसिनरी र औद्योगिक प्रविधिमा दशकौँदेखि नेतृत्व गर्दै आएको छ । अहिले पनि अत्याधुनिक सेमिकन्डक्टर उत्पादनका लागि आवश्यक केही उपकरण र सामग्रीको विश्वव्यापी आपूर्तिमा जापानको महत्वपूर्ण भूमिका छ ।

त्यसैले जापानको आर्थिक भविष्य केवल कार वा इलेक्ट्रोनिक्समा सीमित छैन । रोबोटिक्स, एआई, सेमिकन्डक्टर उपकरण, औद्योगिक स्वचालन र एड्भान्स्ड म्यानुफ्याक्चरिङ जापानको नयाँ प्रतिस्पर्धात्मक क्षेत्र हुन् ।

भारत : सफ्टवेयर सेवाबाट एआई अर्थतन्त्रतर्फ

भारतले चीन वा जापानजस्तो विशाल हार्डवेयर उत्पादनबाट होइन, मानव प्रतिभा र आईटी सर्भिसेसबाट विश्व प्रविधि बजारमा आफ्नो स्थान बनाइरहेको छ ।

भारतका आईटी कम्पनीहरूले विश्वभरका बैंक, बिमा कम्पनी, अस्पताल, सरकारी निकाय र ठूला व्यवसायका डिजिटल प्रणाली सञ्चालनमा ठूलो भूमिका खेलिरहेका छन् । विश्व बैंकको तथ्यांकअनुसार सन् २०२५ मा भारतको आईसीटी सर्भसेस निर्यात करिब २०० अर्ब डलर पुगेको छ ।

अब भारत त्यसभन्दा माथि जाने लक्ष्यमा छ । अर्थात्, एआई, सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ, इलेक्ट्रोनिक्स, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र आफ्नै टेक्नोलोजी इकोसिस्टम निर्माण गर्ने दिशामा भारत उन्मुख छ । यसले दक्षिण एसियामै प्रविधिमा आधारित अर्थतन्त्रको एउटा ठूलो उदाहरण प्रस्तुत गरेको छ ।

विश्व अर्थतन्त्र कता जाँदैछ ?

यसको छोटो उत्तर हो- तेल, ग्यास, कृषि, उत्पादन वा खानीलगायतका क्षेत्रहरुलाई नियन्त्रण गर्ने तहमा प्रविधि पुगिसकेको छ ।

अबको स्मार्ट कार आफैँ एउटा ‘कम्प्युटर’ हो । आधुनिक बैंकिङ एउटा ‘डिजिटल प्ल्याटफर्म’ हो । आधुनिक अस्पताल डेटा र एआईमा निर्भर हुँदैछ । आधुनिक कारखाना रोबोट र सफ्टवेयरमा निर्भर हुँदैछ । आधुनिक सेना पनि स्याटेलाइट, एआई, ड्रोन र एड्भान्स कम्प्युटिङमा निर्भर हुँदैछ ।

त्यसैले जसले प्रविधि बनाउँछ, उसले मात्र पैसा कमाउँदैन, जसले प्रविधि अपनाउन सक्छ, उसले पनि उत्पादकत्व बढाउन सक्छ ।

नेपाल कहाँ छ ?

नेपालले अमेरिका, चीन या अरु कुनै देशसँग चिप उत्पादनमा प्रतिस्पर्धा गर्न सक्दैन । आफ्नै विशाल एआई कम्पनी निर्माण गर्न पनि सक्दैन । तर, नेपालले प्रविधिको मूल्य शृंखलाको एउटा भाग समात्न अवश्य सक्छ ।

त्यो हो- मानव संसाधन ।

सफ्टवेयर विकास, एआई सर्भिसेस, साइबर सिक्योरिटी, एनिमेसन, गेमिङ, डिजाइन, अकाउन्टिङ टेक्नोलोजी र डिजिटल मार्केटिङ नेपालका लागि सम्भावित क्षेत्र हुन् ।

विश्व बैंकका अनुसार नेपालले आईसीटी सर्भिसेस निर्यातमा प्रगति गरिरहेको छ । यसको अर्थ नेपाल प्रविधिको मूल्य शृंखलामा जोडिन सक्ने आधार छ । नेपालका लागि सबैभन्दा ठूलो अवसर सस्तो श्रम होइन, उच्च दक्षता भएको मानव पुँजी हो । नेपालले १०-२० लाख युवालाई विश्वस्तरीय डिजिटल सीप दिन सक्यो भने उनीहरू विदेश गएर मात्र होइन, नेपालमै बसेर विश्वबाट आम्दानी ल्याउन सक्ने सम्भावना छ ।

हिजो मैले प्रस्तुत गरेका शीर्ष नौ धनीको सूचीलाई केवल नौ व्यक्तिको सम्पत्तिको थुप्रो भनेर हेर्नु अधुरो हुन्छ । किनकि, त्यो विश्व अर्थतन्त्रको संरचनामा भइरहेको परिवर्तनको ऐना हो । एआईबाट नयाँ आर्थिक युगको उदय भइरहेको छ भन्ने संकेत हो ।

अब विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो प्रतिस्पर्धा पनि ‘कोसँग बढी पैसा छ ?’ भन्ने होइन । कोसँग राम्रो प्रविधि छ ? कोसँग शक्तिशाली चिप छ ? कोसँग ठूलो डेटा छ ? कोसँग सस्तो र भरपर्दो ऊर्जा छ ? सबैभन्दा महत्वपूर्ण कोसँग भविष्यको प्रविधि बनाउन सक्ने मानिस छन् ? यस प्रश्नको उत्तरले नै अबको आर्थिक शक्ति निर्धारण गर्नेछ । नेपालले यो शृंखलामा आफूलाई कहाँ उभ्याउने भन्ने तय गर्न ढिलाइ गर्नु हुँदैन ।