काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य सहकर्मीबीच ‘सद्भाव सम्बन्ध २०८३’ कार्यक्रम सम्पन्न गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायत वरिष्ठ व्यवस्थापकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका शाखा प्रबन्धक तथा प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपालको समृद्ध संस्कृति र परम्पराको महत्त्वबारे चर्चा गर्दै त्यसको प्रवर्द्धनका लागि नेतृत्व विकास, आपसी सम्बन्ध सुदृढीकरण तथा संस्थागत सहकार्यलाई थप आत्मीय र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको बैंकले जनाएको छ। मधेश प्रदेशका आठ जिल्लामा बैंकका २९ वटा शाखा कार्यालय सञ्चालनमा छन्।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘२०२५’ को उपाधि प्राप्त गर्न सफल बैंकले ग्राहकलाई आधुनिक तथा सहज बैंकिङ सेवा प्रदान गर्न विभिन्न नवीन योजना र प्रविधि सञ्चालनमा ल्याउँदै आएको छ।
यसअघि बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। त्यस्तै, हालै नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन-जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
फ्रिलान्सरहरूलाई लक्षित गर्दै बैंकले विशेष ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ पनि सुरु गरेको छ। साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ।
बैंकले ग्राहकको सुविधाका लागि ‘क्रस बैंक टेलर’ सेवा पनि सञ्चालनमा ल्याएको छ। यस सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन्।
हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६७ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर तथा ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ८५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।