• Menu

प्रोटोन ई मास ७ ले पायो अन्तर्राष्ट्रिय सुरक्षा सम्मान, ‘एसेन एनक्याप’ अवार्डबाट पुरस्कृत

नेपाल प्रफिट

२०८३ मंसिर ४, शुक्रबार १२:४७

प्रोटोन ई मास ७ ले पायो अन्तर्राष्ट्रिय सुरक्षा सम्मान, ‘एसेन एनक्याप’ अवार्डबाट पुरस्कृत

काठमाडौं। प्रोटोनको विद्युतीय एसयूभी ई मास ७ ले अन्तर्राष्ट्रिय सुरक्षा सम्मान प्राप्त गरेको छ। मलेसियामा नोभेम्बर १० मा आयोजित ‘एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६’ मा ई मास ७ ले ‘सेफ्टी असिस्ट’ विधाअन्तर्गत सम्मान पाएको हो।

कम्पनीका अनुसार यो उपलब्धिले ई मास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रति प्रोटोनको प्राथमिकतालाई उजागर गरेको छ। यस एसयूभीमा विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएका सुरक्षा र चालक सहायता सुविधाहरू उपलब्ध छन्।

ई मास ७ को २०२६ मोडलमा थप सुविधाका रूपमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट तथा प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट समावेश गरिएको छ। यी प्रविधिले सवारी चलाउँदा चालकलाई थप सुरक्षा र सहायता प्रदान गर्ने कम्पनीको भनाइ छ।

अन्तर्राष्ट्रिय सुरक्षा सम्मानसँगै ई मास ७ ले मलेसियाको विद्युतीय सवारी बजारमा पनि राम्रो उपस्थिति कायम गरेको छ। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म यस मोडलका पाँच हजार ५७९ युनिट बिक्री भएका छन्। अक्टोबर महिनामा मात्रै ६१६ युनिट बिक्री भएको कम्पनीले जनाएको छ।

सोही अवधिमा प्रोटोन ई मासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएका छन्। यसले कम्पनीका विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको देखाउँछ।

नेपालमा प्रोटोन ई मास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत बिक्री हुँदै आएको छ। प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यस विद्युतीय एसयूभीमा आधुनिक डिजाइन, प्रविधि तथा दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न सुविधा समावेश छन्। गाडीमा सामान व्यवस्थित राख्न ३३ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन्।

यसमा रहेको भेहिकल टु लोड (भीटूएल) सुविधामार्फत गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ। त्यस्तै, सात एनएम इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल तथा मनोरञ्जनसम्बन्धी सुविधालाई सहज बनाउँछ।

मूल्य र ब्याट्री क्षमता

नेपालमा ई मास ७ को प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ, जसले डब्ल्यूएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्ज गर्दा ३४५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।

त्यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ मूल्यको प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ। यसले एकपटकको पूर्ण चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।

दुवै भेरियन्टमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यस प्रविधिबाट करिब २० मिनेटमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

ई मास ७ मा ११ किलोवाटसम्मको एसी चार्जिङ क्षमता रहेको छ भने यसले १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ।

अन्तर्राष्ट्रिय सुरक्षा सम्मान, उन्नत चालक सहायता प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने सुविधाका कारण ई मास ७ ले प्रोटोनको विद्युतीय सवारी पोर्टफोलियोमा महत्वपूर्ण स्थान बनाएको छ। नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला यस मोडलले आफ्नो उपस्थिति थप बलियो बनाउने कम्पनीको अपेक्षा छ।