काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फन्ड-२ ले सातवर्षे निर्धारित अवधि सफलतापूर्वक पूरा गरी खारेजी प्रक्रिया सम्पन्न गरेको छ।
कुल ५६ करोड रुपैयाँ कोष आकार रहेको उक्त योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो। २०८३ असार २१ गते सातवर्षे अवधि पूरा गरेको योजनाले सञ्चालन अवधिभर इकाइधनीलाई वार्षिक नगद लाभांश वितरण गर्दै औसत १०.४० प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ।
योजना खारेजीसम्बन्धी प्रक्रिया सम्पन्न भएसँगै इकाइधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरण गर्ने कार्यसमेत सुरु भएको छ।
नेपाली धितोपत्र बजारमा विभिन्न समयमा देखिएका उतारचढाव, बजार मूल्यमा आएको गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले निरन्तर प्रतिफल वितरण गर्नुलाई सिटिजन्स क्यापिटलको व्यावसायिक लगानी व्यवस्थापन क्षमताको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फन्ड-१ मार्फत पनि कम्पनीले औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको थियो।
सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई प्रतिफल प्रदान गर्दै व्यवस्थित तथा दीर्घकालीन लगानी संस्कृतिको विकासमा योगदान पुर्याउँदै आएको जनाएको छ। हाल कम्पनीले सिटिजन्स सुपर ३० म्युचुअल फन्ड, सिटिजन्स सदाबहार योजना तथा सिटिजन्स सन्तुलित योजनालगायत विभिन्न सामूहिक लगानी योजनाहरू व्यवस्थापन गर्दै आएको छ।
यसैको निरन्तरतास्वरूप कम्पनीले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने भएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त उक्त योजनाको इकाइ निष्कासन आगामी २०८३ मंसिर २ गतेदेखि सुरु हुने तय गरिएको छ। १० वर्ष अवधि रहने योजनाको प्रारम्भिक कोष आकार एक अर्ब रुपैयाँ रहेको छ। माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम एक अर्ब २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ।
उक्त योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्।
सिटिजन्स क्यापिटलले आफ्नो सामूहिक लगानी कोष व्यवस्थापन क्षमता तथा सेवाको गुणस्तरका लागि इक्रा नेपाल लिमिटेडबाट ‘एएमसी क्वालिटी ३ प्लस’ रेटिङ प्राप्त गरेको छ।
विगतका सामूहिक लगानी योजनाको व्यवस्थापनबाट प्राप्त अनुभव, संस्थागत क्षमता तथा व्यावसायिक दक्षतालाई उपयोग गर्दै सिटिजन्स सुपर ५० को लगानी व्यवस्थापनलाई व्यवस्थित, अनुशासित र व्यावसायिक बनाउने कम्पनीको लक्ष्य रहेको छ। उक्त योजनामार्फत दीर्घकालीन लगानीको अवसर प्रदान गर्दै पुँजी बजारमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार हुने अपेक्षा कम्पनीले गरेको छ।
सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन् । कम्पनीले संस्थागत सुशासन, लगानीकर्ताको हित संरक्षण तथा पुँजी बजारको विकासलाई प्राथमिकतामा राख्दै आफ्ना सेवाहरू विस्तार गर्दै आएको जनाएको छ।