काठमाडौं । रेमिटेन्स तथा मनि ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई सम्मानपत्र प्रदान गरेका हुन् ।
सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय भएको बताए ।
उनले विभिन्न देशमा सयभन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल रहेको आइएमईले रेमिटेन्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो ब्रान्ड पहिचानलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष ढकालले रेमिटेन्स सेवासँगै आइएमईले सिर्जना तथा विकास गरेको उद्यमशीलताको इकोसिस्टमलाई थप सुदृढ बनाउने बताए । उन्नत प्रविधि, उत्कृष्ट सेवा र व्यावसायिक गतिशीलतालाई प्राथमिकता दिँदै अघि बढ्ने उनको भनाइ थियो।
सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। यस योगदानका आधारमा कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ।
आइएमई यसअघि पनि पटक-पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भइसकेको छ ।