• Menu

बोरामा हालेर भ्यानमा ओसारिँदै थियो १ करोड ६७ लाख नगद, ३ जना पक्राउ

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार १६:१८

बोरामा हालेर भ्यानमा ओसारिँदै थियो १ करोड ६७ लाख नगद, ३ जना पक्राउ

काठमाडौं । ललितपुरको नख्खु क्षेत्रमा भ्यानमा बोरा राखेर ठूलो परिमाणमा नगद ओसारपसार भइरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले भ्यानबाट स्रोत नखुलेको एक करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बा.प्र. १-०२७ च २७६५ नम्बरको भ्यान जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो। नख्खुचोकतर्फ अघि बढिरहेको भ्यानभित्र राखिएको बोराबाट नगद बरामद भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भोजपुर नगरपालिका-३ का ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले ठूलो रकमसहित तीन जना पक्राउ परेको जानकारी दिए ।

प्रहरीले बरामद गरेको रकममा एक हजार, पाँच सय, ५०, २०, १०, पाँच र एक रुपैयाँ दरका नोट रहेका छन्। सबैभन्दा ठूलो हिस्सा एक हजार रुपैयाँ दरका नोटको रहेको छ।

भ्यानमा बोराभित्र राखेर यति ठूलो रकम ओसारपसार भइरहेको अवस्थामा बरामद भएपछि प्रहरीले रकमको स्रोत र यसको प्रयोजनबारे अनुसन्धान अघि बढाउने भएको छ।

पक्राउ परेका व्यक्तिहरूले उक्त रकम कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषय भने अनुसन्धानपछि खुल्नेछ।